
थाइल्याण्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा सन् २०२५ को जुलाई २४ (८ साउन २०८२) देखि सुरु भएको सशस्त्र भिडन्तले हजारौं सर्वसाधारणलाई विस्थापित बनाउनुका साथै क्षेत्रीय तनाव गहिराएको छ। नेपालबाट टाढा देखिए पनि यो द्वन्द्वले दक्षिणपूर्वी एसियाको स्थायित्वलाई खतरामा पारेको छ। थाइल्याण्डको सुरिन प्रदेशमा पर्ने एक पुरानो खमेर मन्दिरलाई लिएर चर्किएको विवादले अब सैन्य संघर्षको रूप लिएको छ।
के भइरहेको छ अहिले?
थाइल्याण्ड र कम्बोडिया प्राचीन खमेर मन्दिर ‘प्रासात ता मुएन थोम’ (Prasat Ta Muen Thom) को स्वामित्वलाई लिएर टकराइरहेका छन्। यो मन्दिर थाइल्याण्डको सुरिन प्रान्तमा पर्छ, तर कम्बोडियाले यसमा ऐतिहासिक दाबी गर्दै आएको छ।
तस्वीर: प्रासात ता मुएन थोम मन्दिर
८२० किलोमिटर लामो सीमावारि–पारि तोप, रकेट, ड्रोन र हवाई आक्रमण प्रयोग भइरहेका छन्। यो झडप २०११ यता सबैभन्दा भयावह मानिएको छ। अहिलेसम्म कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ — थाइल्याण्डमा १९ (जसमध्ये १३ जना सर्वसाधारण) र कम्बोडियामा १३ जनासम्म।
अझै युद्धविराम नहुँदा १ लाख ५८ हजारभन्दा बढी सर्वसाधारण आफ्नो घर छाड्न बाध्य भएका छन्।
क्षति विवरणः
- थाइल्याण्ड: कम्बोडियन गोला अस्पताल र पेट्रोल पम्पमा खसेको पुष्टि भएको छ।
- कम्बोडिया: थाइल्याण्डले हवाई आक्रमणमार्फत सैन्य पोस्टहरूमा प्रहार गरेको छ।
- दुवै देश एक–अर्कामाथि आक्रमण सुरु गरेको आरोप लगाइरहेका छन् — थाइल्याण्डले ड्रोन आक्रमण र सीमाछेउका घुसपैठको आरोप लगाउँछ भने कम्बोडियाले थाइ सेनाको 'आक्रामक कार्य' को आलोचना गरेको छ।
किन भइरहेको छ यो सबै?
यसको जरो १०० वर्षअघिको उपनिवेशकालीन सन्धिमा लुकेको छ। सन् १९०० को दशकमा फ्रान्स (कम्बोडियाको शासक) र तत्कालीन स्याम (हालको थाइल्याण्ड) बीच भएका सन्धिहरू अस्पष्ट सीमांकनमा टुंगिएका थिए। यसले खासगरी खमेर मन्दिर वरपरको भू–भागलाई विवादको घेरामा राख्यो।
सन् १९६२ (२०१९ साल) मा अन्तर्राष्ट्रिय अदालत (ICJ) ले ‘प्रेह भिहेयर’ (Preah Vihear) मन्दिर कम्बोडियालाई दिएको निर्णय गरे तापनि त्यस वरपरको भू–भाग अझै विवादित रहँदै आएको छ। 'ता मुएन थोम' मन्दिर पनि त्यस्तै विवादमा फसेको ऐतिहासिक सम्पत्ति हो।
तस्वीर: प्रेह भिहेयर मन्दिरको स्थान देखाउने नक्सा
हालैको तनाव किन चर्कियो?
फेब्रुअरी २०२५ (फागुन २०८१):
थाइ सेनाले ‘ता मुएन थोम’ मन्दिर क्षेत्रमा पुगेका कम्बोडियन पर्यटकलाई आफ्नो राष्ट्रिय गीत गाउन रोक लगाए। यसले कम्बोडियामा राष्ट्रवादी आक्रोश फैलायो।
तस्वीर: प्रासात ता मुएन थोम मन्दिरको स्थान देखाउने नक्सा
मे २०२५ (जेठ २०८२):
छोटो झडपमा एक जना कम्बोडियन सैनिकको मृत्यु भयो, जसले अविश्वास र तनाव थप चर्कायो।
जुलाई २०२५ (साउन २०८२):
थाइ प्रधानमन्त्री पेइथोङ्तार्न शिनावात्रा र कम्बोडियाका प्रमुख नेता हुन सेनबीचको टेलिफोन वार्ता लिक भएपछि थाइल्याण्डमा ठूलो राजनीतिक संकट उत्पन्न भयो। प्रधानमन्त्री निलम्बनमा परे। केही दिनपछि एक थाइ सैनिक बारुदी सुरुङमा परेर घाइते भएपछि स्थिति अझ चर्कियो। त्यसपछि दुवै देशले एक–अर्काका राजदूतहरू फिर्ता बोलाए।
तस्वीर: थाइ प्रधानमन्त्री शिनावात्रा र कम्बोडियन नेता हुन सेन
घरेलु राजनीति र अन्तर्राष्ट्रिय दबाब
थाइल्याण्डभित्र राजनीतिक अस्थिरता छ। अमेरिका सँगको व्यापारमा ३६ प्रतिशतसम्मको नयाँ कर अगस्त १ (१७ साउन) देखि लाग्ने भएपछि थाइ सरकारले राष्ट्रवादी एजेन्डामा ध्यान केन्द्रित गरेको देखिन्छ।
कम्बोडियामा पनि नेता हुन सेन र प्रधानमन्त्री हुन मानेटले जनमत जोड्न राष्ट्रवादको उपयोग गरिरहेका छन्। दुबै देशभित्रको यस्तो सन्दर्भले सीमा विवादलाई आगोमा घ्यू थप्ने काम गरिरहेको छ।
मानवीय असर
थाइल्याण्डमा:
- १३ जना सर्वसाधारणसहित १९ जनाको मृत्यु
- ४६ जना घाइते
- १ लाख ३८ हजार नागरिकलाई ४ वटा प्रदेशका ३०० भन्दा बढी आश्रयस्थलमा सारिएको छ
- अस्पताल, पेट्रोल पम्पमा क्षति
कम्बोडियामा:
- १३ जनासम्मको मृत्यु, ५ जना घाइते
- २० हजारभन्दा बढी मानिस ओडार मेन्चे (Oddar Meanchey) प्रान्तबाट विस्थापित
- चारवटा विस्फोटक सामाग्री विद्यालयमा खसेपछि विद्यालय बन्द गरियो
सांस्कृतिक धरोहरमा असर:
कम्बोडियाले UNESCO सूचीमा परेको ‘प्रेह भिहेयर’ मन्दिरमा क्षति पुगेको दाबी गरेको छ। थाइल्याण्डले भने यसलाई अस्वीकार गरेको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
- संयुक्त राष्ट्रसंघ (UN): जुलाई २५ मा आपतकालीन बैठक बस्यो। कम्बोडियाले थाइल्याण्डलाई 'बिना कारण आक्रामक' भनेको छ। सहमति भने हुन सकेन।
- ASEAN (आसियान): हाल मलेसिया अध्यक्ष रहेको आसियानले युद्धविरामको प्रस्ताव गरेको छ, तर थाइल्याण्डले बाह्य मध्यस्थता अस्वीकार गर्दै दुईपक्षीय वार्ताको पक्षमा बोलेको छ।
- अमेरिका र चीन: अमेरिका थाइल्याण्डको नजिक र चीन कम्बोडियाको सघोष समर्थक भए पनि दुबै देशले शान्ति कायम गर्न अपिल गरेका छन्।
- अन्य देशहरू: अष्ट्रेलिया, युरोपेली संघ र जापानले पनि द्वन्द्व शान्तिपूर्ण समाधान गर्न आग्रह गरेका छन्।
- यात्रा चेतावनी: अमेरिका र बेलायतले उक्त सीमा क्षेत्रमा यात्रा नगर्न नागरिकहरूलाई सचेत गराएका छन्।
नेपालले चासो किन लिनुपर्छ?
१. क्षेत्रीय स्थायित्व:
थाइल्याण्ड र कम्बोडिया दुबै नेपालले व्यापार, पर्यटन तथा कूटनीतिक सम्बन्ध राख्ने आसियान क्षेत्रका सदस्य हुन्। त्यहाँको अस्थिरताले सम्पूर्ण क्षेत्रीय व्यापार, लगानी र यात्रामा असर पार्न सक्छ।
२. मानव अधिकार र सीमा विवाद:
१ लाख ५८ हजारभन्दा बढीको विस्थापनले सीमा विवादको मानवीय पक्ष उजागर गर्छ, जुन कुरा नेपाल–भारत सीमासम्बन्धी बहससँग समेत सन्दर्भित हुन्छ।
३. सांस्कृतिक सम्पदाको सुरक्षा:
UNESCO सम्पदास्थलहरूमा हतियार प्रहार हुनु, नागरिक क्षेत्रमा बम खस्नुजस्ता घटनाले सम्पूर्ण विश्वका लागि चेतावनी दिन्छ। सांस्कृतिक सम्पदाको रक्षा सबै देशको सरोकार हो, नेपाल पनि त्यसमा अपवाद होइन।
अब के हुन्छ?
११ साउन (२७ जुलाई) सम्म झडप केही कम भएको भए पनि पूर्णरूपमा रोकिएको छैन। थाइल्याण्डले ८ वटा सीमा जिल्लामा मार्शल ल लागू गरेको छ। दुबै देशले सेना तैनाथ गरेका छन्।
कूटनीतिक पहल थालिन सकेको छैन। थाइल्याण्डले अन्तर्राष्ट्रिय मध्यस्थता अस्वीकार गरिरहेको छ भने कम्बोडिया संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालत (ICJ) मा मुद्दा लैजाने तयारीमा छ।
अहिलेलाई पूर्ण युद्धको सम्भावना न्यून देखिए पनि तत्काल युद्धविराम नभए थप हिंसा सम्भव छ।