झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुन्डाँगीमा बाघ देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। खोरमै बाँधेर राखिएका बाख्रामाथि बाघले आक्रमण गर्न थालेपछि गाउँमा डरको वातावरण फैलिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मेचीनगर नगरपालिका–४ बाहुन्डाँगी निवासी बीरबहादुर राईको खोरमा बाँधिएका बाख्रामा बाघले आक्रमण गरेको थियो। आक्रमणबाट दुईवटा ब्याउने बाख्रा मरेका छन्, जसबाट करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनापछि बाघको खोजी कार्य भए पनि हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ। यस क्षेत्रमा यसअघि पनि चितुवा देखिँदै आएको स्थानीयले बताएका छन्।
हात्तीको जोखिम उच्च रहेको बाहुन्डाँगीमा पछिल्लो समय चितुवा र बाघसमेत देखिन थालेपछि स्थानीयको दैनिकीमै प्रभाव परेको छ। वडाध्यक्ष अर्जुन कार्कीले वन्यजन्तुको गतिविधि बढेकाले विशेष सतर्कता अपनाउँदै हिँडडुल गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ।


