ललितपुर । गोदावरी नगरपालिका–८ डुकुछापस्थित गणेश माध्यमिक विद्यालयका करिब १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनले शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, प्रमुख कार्यकारी अधिकृत दिलीपराज बराल, विद्यालयका प्रधानाध्यापक बद्री पौडेल तथा वडा नं. ८ का कार्यवाहक अध्यक्ष भीष्म धिताललगायतले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा ग्रुपका कार्यकारी अध्यक्ष रायमाझीले विद्यार्थी र विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर संस्थाले सामाजिक सहयोगलाई निरन्तरता दिने बताए । उनले गत वर्ष पनि विभिन्न छ विद्यालयलाई सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए ।
ग्रुपका प्रमुख कार्यकारी अधिकृत बरालले विद्यार्थीको शिक्षामा सहयोग गर्नु संस्थाहरूको सामाजिक जिम्मेवारी भएको बताए । विद्यार्थीको पठनपाठनलाई सहज बनाउन आवश्यक क्षेत्रमा सहयोग र सहकार्य गर्न संस्था तयार रहेको उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक पौडेलले विद्यालयमा कम्प्युटर ल्याबको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।






