भक्तपुर — डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले व्यवसाय विस्तार र पूँजी सुदृढीकरणका लागि सर्वसाधारणमा १६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको उक्त शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग्दै आवेदनसमेत पेश गरेको जनाएको छ।
सूर्यविनायक नगरपालिका–८, सिपाडोल, भक्तपुरमा रहेको कम्पनीले आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीका सञ्चालक अध्यक्ष रामनाथ मैनालीले ११औँ वार्षिक साधारणसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति प्रतिवेदनमा आईपीओबाट प्राप्त हुने रकमलाई व्यवसाय विस्तार, पूर्वाधार विकास, रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति तथा दीर्घकालीन व्यावसायिक योजनामा परिचालन गर्ने उल्लेख छ।
रिसोर्ट विस्तारदेखि स्विमिङ पुल र स्पासम्म
डोलेश्वर क्षेत्रको धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई आतिथ्य सेवासँग जोडेर आकर्षक र दिगो पर्यटकीय गन्तव्य बनाउने लक्ष्य कम्पनीले अघि सारेको छ।
आगामी चरणमा थप आवासीय कोठा, बालबालिकाका लागि खेल तथा मनोरञ्जन क्षेत्र, सभा तथा सेमिनार हललगायत पूर्वाधार विकास गर्ने कम्पनीको योजना छ।
त्यसैगरी सम्भाव्यता र लगानी क्षमताका आधारमा स्विमिङ पुल, स्पा, ज्याकुजी, थप मनोरञ्जन तथा विश्राम क्षेत्र र टेन्ट तथा प्राकृतिक आवास सुविधा विकास गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले फार्म–टु–टेबल अवधारणालाई थप प्रभावकारी बनाउने, धार्मिक तथा सांस्कृतिक पर्यटनमा आधारित प्याकेज विकास गर्ने र संस्थागत, कर्पोरेट तथा समूहगत ग्राहकलाई लक्षित गरी बजार विस्तार गर्ने जनाएको छ।
डिजिटल मार्केटिङ तथा अनलाइन बुकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने र भारतीयसहित अन्तर्राष्ट्रिय पर्यटक लक्षित बजार प्रवद्र्धनलाई पनि आगामी प्राथमिकतामा राखिएको छ।
डोलेश्वरको धार्मिक पर्यटनलाई व्यवसायसँग जोड्ने रणनीति
कम्पनीले आफ्नो भौगोलिक अवस्थिति, डोलेश्वर महादेव मन्दिर तथा आसपासका धार्मिक एवं पर्यटकीय स्थलको निकटता र काठमाडौं उपत्यकाबाट सहज पहुँचलाई प्रमुख व्यावसायिक सम्भावनाका रूपमा लिएको छ। यही आधारमा आन्तरिक पर्यटक, पारिवारिक समूह, धार्मिक पर्यटक, संस्थागत समूह तथा तालिम, सेमिनार र अन्य कार्यक्रमका आयोजकलाई लक्षित गरी बजार विस्तार गर्ने रणनीति कम्पनीले अघि सारेको छ।
आवास, भोजन, कार्यक्रम, मनोरञ्जन र प्राकृतिक अनुभवलाई एउटै सेवा प्याकेजमा जोडेर ग्राहकको आवश्यकता र रुचिअनुसार नयाँ उत्पादन विकास गर्ने कम्पनीको योजना छ।
पर्यटनभन्दा बाहिर पनि लगानी विस्तार गर्ने तयारी
कम्पनीले आफ्नो संशोधित व्यावसायिक उद्देश्यअनुसार भविष्यमा पर्यटन क्षेत्रमा मात्रै सीमित नरहने संकेत गरेको छ।
ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा, निर्माण, व्यापार, प्रविधि विकास तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी र परियोजना विकास गर्ने सम्भावनालाई कम्पनीले दीर्घकालीन रणनीतिमा समेटेको छ।
त्यसैगरी भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड तथा प्रचलित कानुनअनुसार स्वीकृत अन्य वित्तीय उपकरणमार्फत लगानी व्यवस्थापन तथा कोष व्यवस्थापन गर्ने लक्ष्य पनि कम्पनीले लिएको छ।
विभिन्न परियोजना तथा उद्यममा स्वपूँजी, ऋण, डिबेञ्चर, ऋणपत्र तथा अन्य वित्तीय उपकरणमार्फत लगानी गर्ने, लगानी कोष स्थापना तथा व्यवस्थापन गर्ने र आवश्यकताअनुसार वित्तीय तथा व्यवस्थापकीय परामर्श सेवा प्रदान गर्ने उद्देश्य कम्पनीले अघि सारेको छ।
यसले डोलेश्वर भिलेज रिसोर्टलाई भविष्यमा बहुआयामिक लगानी तथा व्यवस्थापन कम्पनीका रूपमा विकास गर्ने आधार तयार गर्ने कम्पनीको विश्वास छ।

चारतारे रिसोर्टदेखि संस्थागत लगानीसम्म
कम्पनीको दीर्घकालीन लक्ष्य डोलेश्वर क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको अवसर उपयोग गर्दै रिसोर्टलाई उच्चस्तरीय पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा स्थापित गर्नु हो।
रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्ने, उच्चस्तरीय होटल तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने र आधुनिक प्रविधिमार्फत सेवा तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने योजना कम्पनीले सार्वजनिक गरेको छ।
आईपीओबाट प्राप्त पूँजी उत्पादनशील तथा प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य विस्तार गर्ने तथा संस्थागत लगानी र लगानी व्यवस्थापनको अवधारणालाई क्रमशः अघि बढाउने कम्पनीको रणनीति छ।
रोजगारी र स्थानीय अर्थतन्त्रमा योगदान बढाउने लक्ष्य
कम्पनीले पर्यटन व्यवसायको विस्तारसँगै स्थानीय आर्थिक गतिविधि र रोजगारी सिर्जनामा आफ्नो योगदान बढाउने लक्ष्य पनि राखेको छ। कर्मचारीको क्षमता विकास, सेवा गुणस्तर सुधार, आन्तरिक नियन्त्रण, अभिलेख व्यवस्थापन तथा ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित गर्दै संस्थागत क्षमता सुदृढ गर्ने कम्पनीले जनाएको छ। सञ्चालक समितिले उपलब्ध स्रोतसाधनको उचित उपयोग, पूर्वाधार विकास, बजार विस्तार, सेवा गुणस्तर र संस्थागत सुशासनलाई समानान्तर रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।



