काठमाडौं । नेपाली कांग्रेसका नेता बाबुकृष्ण सापकोटाले केन्द्रीय समिति सदस्यमा उम्मेदवारी मनोनयन गर्ने तयारी गरेका छन् । धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका हुन् । कार्यकर्ताको चाहनाबमोजिम केन्द्रीय नेतृत्वमा जानुपर्ने उनको भनाइ छ ।
उनको उम्मेदवारीले १५औँ महाधिवेशनमा धादिङको प्रतिनिधित्व र जिल्लाको राजनीतिक प्रभावका विषयमा समेत चासो बढाएको छ । जिल्लामा राजनीतिसँगै समाजसेवी र व्यवसायीको पहिचान बनाएका सापकोटालाई कार्यकर्ताले यसपटक केन्द्रीय तहमा देख्न चाहेको बताएका छन् ।
सापकोटाले पार्टीको स्थानीय तह समन्वय विभागको सदस्य र धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
सापकोटाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठन, कार्यकर्ताको भावनाको प्रतिनिधित्व र धादिङको प्रतिनिधित्वलाई केन्द्रमा राखेर अघि बढाउने बताउँदै आएका छन् । अबको नयाँ कांग्रेसलाई रूपान्तरणको खाँचो रहेको भन्दै सापकोटाले आफ्नो उम्मेदवारीले पार्टी एजेन्डालाई थप बलियो बनाउने दाबी गरेका छन् ।


