आइसिसी टी–२० विश्वकपमा भारतसँगको खेल बहिस्कार गर्ने घोषणा गरेको पाकिस्तानले अन्ततः आफ्नो निर्णय फिर्ता लिएको छ। यसअघि पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने अडान लिएको थियो। बङ्गलादेशलाई विश्वकपबाट बाहिर राखिएको विरोधस्वरूप पाकिस्तानले यस्तो कदम चालेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पटक–पटक निर्णय पुनर्विचार गर्न आग्रह गरेपछि पाकिस्तान क्रिकेट बोर्ड, बङ्गलादेश क्रिकेट बोर्ड र आइसिसीबीच त्रिपक्षीय छलफल भएको थियो। उक्त छलफलपछि पाकिस्तान भारतसँगको खेल खेल्न तयार भएको हो।
भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी १५ मा श्रीलङ्काको कोलम्बोमा हुनेछ। दुवै टोली विश्वकपको ‘ए’ समूहमा छन्, जहाँ नामिबिया, नेदरल्यान्ड्स र अमेरिका पनि सहभागी छन्।
यसअघि सुरक्षा चिन्तालाई कारण देखाउँदै बङ्गलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसिसीले उसलाई प्रतियोगिताबाट हटाएको थियो। बङ्गलादेशको स्थानमा वरीयताका आधारमा स्कटल्यान्डलाई समावेश गरिएको थियो। विश्वकप बहिस्कारको विषयमा कारबाही गर्ने चेतावनी दिइए पनि आइसिसीले अन्ततः बङ्गलादेशमाथि थप कारबाही नगर्ने निर्णय गरेको छ।


