काठमाण्डौ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिमा देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रहेको बताएका छन्। नेकपा ओखलढुंगाले आयोजना गरेको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ शक्ति स्थापित नहुने टिप्पणी गरेका हुन्।
रास्वपालाई लक्षित गर्दै प्रचण्डले विद्यार्थी हत्या र विध्वंसजस्ता घटनामा संलग्न पक्षहरूले आत्मसमीक्षा नगरी प्रचारमा लाग्नु उपयुक्त नभएको बताए। उनले आफ्नो पार्टी ती शक्तिभन्दा वैचारिक रूपमा भिन्न रहेको दाबी गर्दै देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्नु ऐतिहासिक आवश्यकता भएको स्पष्ट पारे।
आफ्नो उमेरलाई लिएर उठ्ने प्रश्नप्रति प्रतिक्रिया दिँदै प्रचण्डले बाहिरबाट उमेर ढल्केजस्तो देखिए पनि भित्री ऊर्जा कमजोर नभएको जिकिर गरे। उनले राष्ट्रको स्वाधीनता र जनताको हितका लागि अन्तिम समयसम्म नयाँ आन्दोलन निर्माणमा समर्पित रहने सङ्कल्प व्यक्त गरे।
कार्यक्रममा एमाले परित्याग गरी नेकपाबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेमा वैचारिक गतिशीलता समाप्त भएकाले विद्रोह गरेको बताए। उनले जनताको समर्थनका आधारमा निर्वाचन जित्ने दाबी गरे। प्रचण्डले गुरुङलाई विजयी गराए पार्टीले उपयुक्त जिम्मेवारी दिने र मन्त्री बनाउने संकेतसमेत दिएका थिए।


