सस्तो मूल्यमा सुन उपलब्ध गराइदिने बहानामा सर्वसाधारणबाट रकम असुली ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीकै एक हवल्दार पक्राउ परेका छन्।
प्रहरी वृत्त कालिमाटी क्षेत्रबाट माघ १४ गते पक्राउ परेका तीन व्यक्तिमाथि भइरहेको अनुसन्धानका क्रममा नेपाल प्रहरीमा कार्यरत हवल्दार कर्णबहादुर सुनारको संलग्नता खुलेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार सुनारले करिब ६० लाख रुपैयाँ बराबरको रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको प्रकृति, लुटपाटको शैली र प्राप्त प्रमाणका आधारमा उनीहरूमाथि डाँका चोरीसम्बन्धी मुद्दा चलाउन पर्याप्त आधार देखिएको प्रहरीको भनाइ छ।
उक्त मुद्दामा संलग्न सबै आरोपितविरुद्ध म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।


