Banner Nepal
चुनावअघि धनकुटामा आचारसंहिता विवाद, एमाले उम्मेदवार घेरामा

काठमाण्डौ । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ। नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका राईविरुद्ध मतदातालाई प्रलोभनमा पार्ने गरी नगद वितरण गरेको आरोपमा उजुरी परेको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले धनकुटाको सहिदभूमि गाउँपालिका–१ सफाइटारमा पुगेर स्थानीय ४५ वर्षीया तीर्थकुमारी राईलाई नगदसहित सम्मान गरेका थिए। सोही कार्यक्रममा सहिदभूमि गाउँपालिका अध्यक्ष तथा एमाले नेता मनोज राईले पनि प्रोत्साहनका रूपमा पाँच हजार रुपैयाँ नगद प्रदान गरेका थिए।

कार्यक्रममा पूर्वमन्त्री राईले तीर्थकुमारीको बाँसुरी वादन कलाको प्रशंसा गर्दै गाउँमा रहेका प्रतिभालाई हौसला दिन सम्मान गरिएको दाबी गरेका थिए। उक्त अवसरमा एमालेका अन्य नेता तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री निरन राई र सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईको समेत उपस्थिति थियो।

तर राई स्वयं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार भएकाले यसलाई निर्वाचन आचारसंहिता विपरीत मतदाता प्रभावित गर्ने कार्य ठहर गरिएको हो। मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामको निर्णयअनुसार एकपटकका लागि सचेत गराइएको सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिए।

योङहाङका अनुसार निर्वाचन अवधिमा नगद वितरण गर्नु आचारसंहिता उल्लंघन हुने स्पष्ट व्यवस्था रहेको छ र अबदेखि यस्ता गतिविधि नगर्न कडा चेतावनी दिइएको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ अनुसार उल्लंघन पुष्टि भए एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने प्रावधान छ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update