Banner Nepal
बालेन साहको डेरामा चोरी गर्ने तीन जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराहीस्थित डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धुम्बाराही चप्पल कारखाना क्षेत्रमा रहेको सीतादेवी गुरुङको घरमा रहेको साहको डेरामा चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएका ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल–६ घर भई धादिङको धुनिवेँशी बसोबास गर्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्। उनीहरू जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीको खोजतलासका क्रममा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मनिष राजवाहक जेन–जी आन्दोलनका बेला रास्वपा सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका व्यक्ति हुन्। उनी २०७९ पुस १८ गते चोरी मुद्दामा तीन वर्ष छ महिना कैद सजाय भोग्न जेल चलान भएका थिए। यसअघि पनि उनीविरुद्ध विभिन्न समयमा सार्वजनिक अपराध र चोरीसम्बन्धी मुद्दा दर्ता भएका थिए।

प्रहरीले राजवाहकलाई माघ २३ गते बाँसबारी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। उनको साथबाट बालेन्द्र साहको डेराबाट चोरी भएको वर्ल्डलिंकको एक थान राउटर र दुई थान सीसीटीभी क्यामेरा बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update