Banner Nepal
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आज

काठमाण्डौ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आह्वान गरेको छ । आइतबार बिहान ८:३० बजेका लागि तय गरिएको बैठक पार्टीको संगठनात्मक र निर्वाचनसम्बन्धी तयारीमा केन्द्रित रहने बताइएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा तीन वटा मुख्य एजेन्डामाथि छलफल हुने छ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको निर्वाचन परिचालन रणनीति, सार्वजनिक कार्यक्रम व्यवस्थापनका मापदण्ड तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषय बैठकको प्राथमिकतामा रहेका छन् ।

बैठकमा ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२’ माथि छलफल तथा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ । यस्तै, पार्टीभित्र अनुशासन कायम गर्न केन्द्रीय अनुशासन समिति गठनबारे पनि बैठकले ठोस निर्णय गर्ने सम्भावना रहेको छ ।

पार्टी नेतृत्वले निर्वाचनको मिति नजिकिँदै जाँदा संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउन केन्द्रीय तहबाट आवश्यक नीतिगत तथा संरचनात्मक निर्णय लिने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update