काठमाण्डौ — आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा जुटेको नेपाली क्रिकेट टोलीले आज अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा साँझ ५:१५ बजे सुरु हुने खेलमा नेपाल जित हात पार्दै विश्वकपअघि आत्मविश्वास मजबुत बनाउने लक्ष्यमा छ।
नेपालले अभ्यास चरणको दोस्रो तथा अन्तिम खेल बिहीबार क्यानाडासँग खेल्ने कार्यक्रम रहेको छ। यसअघि नेपाली टोलीले भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई अभ्यास खेल खेलेको थियो। त्यसअघि श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेलेर नेपाल भारत पुगेको हो।
नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो भने सन् २०२४ को अघिल्लो संस्करणमा पनि सहभागिता जनाएको थियो।
भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने टी–२० विश्वकपमा २० राष्ट्र सहभागी छन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसँगै दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। त्यसपछि सेमिफाइनल हुँदै उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।


