काठमाण्डौ — फिलिपिन्समा आइतबारदेखि सक्रिय कलमेगी चक्रवातले व्यापक जनधन क्षति पुर्याउँदै मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने २६ जना अझै बेपत्ता रहेको फिलिपिन्सको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जानकारी दिएको छ। सबैभन्दा बढी प्रभावित सेबु प्रान्तमा मात्र ४९ जनाको ज्यान गएको ओसीडी उप–प्रशासक राफेलिटो अलेजान्ड्रोले मिडियालाई बताएका छन्।
अलेजान्ड्रोकाअनुसार चक्रवातका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। आवास संरचनादेखि विद्युत तथा यातायात व्यवस्थासमेत प्रभावित भएकाले उद्धार र पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको बताइएको छ।
फिलिपिन्सको मौसम विज्ञान विभागका अनुसार कलमेगी चक्रवातको केन्द्र एल निडो, पलावन क्षेत्रतर्फ पश्चिम–उत्तरपश्चिम दिशामा करिब २५ किलोमिटर प्रतिघण्टाको गतिमा सरिरहेको छ। सो चक्रवातले अधिकतम १२० किलोमिटर प्रतिघण्टा वेगको हावा, केही स्थानमा १६५ किलोमिटर प्रतिघण्टासम्मको झड्का ल्याएको उल्लेख गरिएको छ।
यो चक्रवात यस वर्ष फिलिपिन्समा प्रहार गर्ने २०औँ चक्रवात हो। प्रशान्त महासागरको चक्रवात क्षेत्रमा पर्ने फिलिपिन्सले हरेक वर्ष औसत २० वटा चक्रवातको सामना गर्नुपर्ने तथ्याङ्क छ।


