काठमाण्डौ — राष्ट्रियसभाले पर्यटन क्षेत्रको विकास, विविधीकरण र प्रवर्द्धनलाई संस्थागत गर्न उद्देश्यसहित ल्याइएको ‘पर्यटन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले प्रस्तुत गर्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले समर्थन गरेको हो।
बैठकमा मन्त्री सिन्हाले विधेयकमार्फत पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै नयाँ सम्भावनाहरू विस्तार गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो। यसै बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ।
नेपाली कांग्रेसबाट २०५४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित संयोकको माघ १९ गते ९० वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रियसभाको आगामी बैठक माघ २८ गते दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।


