नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन सोमबार २६.०५ अंकले घटेको नेप्से मंगलबार थप १०.२५ अंकले ओरालो लाग्दै २६६२.१४ बिन्दुमा झरेको छ।
नेप्से सूचकसँगै कारोबार रकममा समेत उल्लेखनीय गिरावट देखिएको छ। यो साताको पहिलो दिन आइतबारदेखि नै सूचक र कारोबार दुवै घट्दो क्रममा रहेको नेप्सेले जनाएको छ। मंगलबार कारोबार सुरु हुँदा नेप्से २६७२.३९ बिन्दुमा थियो।
यस दिन बजारमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र सूचक नकारात्मक बनेको हो। कारोबार भएका कम्पनीमध्ये १ सय ७९ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा हेर्दा मंगलबार अधिकांश परिसूचक ओरालो लागेका छन्। बैंकिङ समूह १.३२ अंकले घट्दा विकास बैंक ६५.६७ र वित्त समूह २२.७१ अंकले घटेका छन्। त्यसैगरी होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र अन्य समूहसमेत घटेका छन्। यद्यपि सामूहिक लगानी कोष र व्यापार समूह भने सामान्य अंकले बढेका छन्।
मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद–बिक्री भएको छ। कुल कारोबार रकम ८ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ, जुन सोमबारको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको तुलनामा कम हो।


