Banner Nepal
गाजामा बालबालिकाको स्वास्थ्य सेवा विस्तारका लागि युद्धविराम अपरिहार्य– डब्ल्यूएचओ

काठमाण्डौ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता निरन्तर राख्न आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उहाँले गाजाका बालबालिकालाई नियमित खोप, पोषण, उपचार तथा वृद्धि अनुगमन गर्ने आगामी कार्यक्रम सफल बनाउन युद्धविराम अपरिहार्य भएको जनाइएको छ।

डब्ल्यूएचओ, युनिसेफ र युएनआरडब्लुएले संयुक्त रूपमा करिब ४४ हजार बालबालिकालाई स्वास्थ्य सेवा पुनः पहुँचमा ल्याउने तयारी गरेको छ। तर, युद्धका कारण गाजाका बालबालिका करिब दुई वर्षदेखि आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेको डा. गेब्रेयससले उल्लेख गरेका छन्।

उनका अनुसार क्षतिग्रस्त वा नष्ट भएका २० स्वास्थ्य केन्द्रको पुनःस्थापना र सेवा विस्तारका कार्य तीव्र रूपमा अघि बढाइँदैछ। यसले दिगो रूपमा स्वास्थ्य पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

डा. गेब्रेयससले गाजाको स्वास्थ्य प्रणाली स्थायित्वमा फर्काउन र बालबालिकाको जीवन सुरक्षित बनाउन शान्ति नै दीर्घकालीन समाधान हुनेमा जोड दिएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update