Banner Nepal
वैदेशिक रोजगारी र अध्ययनको प्रलोभनमा ६८ लाख बढी ठगी, एक जना पक्राउ

काठमाण्डौ — वैदेशिक रोजगारी तथा अध्ययनका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ६८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ का ३२ वर्षीय बद्री सिलवाल रहेका छन्।

प्रहरीका अनुसार सिलवालले काठमाण्डौ–१० मा ‘ह्याप्पी एजुकेसनल कन्सल्टेन्सी’ सञ्चालन गर्दै दुई जना विद्यार्थीलाई अध्ययन भिसामा पोर्चुगल पठाइदिने आश्वासन दिएका थिए। सोही क्रममा उनले कन्सल्टेन्सीको खातामा २१ लाख ७० हजार रुपैयाँ जम्मा गराएपछि कार्यालय बन्द गरी फरार भएका थिए।

अनुसन्धानका क्रममा सिलवालले परिचय परिवर्तन गरी ठगी गर्ने गरेको खुल्न आएको काठमाण्डौ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनले आफूलाई ‘केदार प्रसाद सिलवाल’ भनेर चिनाउँदै सोही नाममा चेक काट्न लगाई अर्का एक विद्यार्थीलाई स्पेन पठाइदिने भन्दै १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।

त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१० मा पनि उस्तै नामको कन्सल्टेन्सी खोली चार जनालाई कामदार भिसामा सर्बिया पठाइदिने भन्दै २१ लाख ९० हजार ५ सय रुपैयाँ लिएर सम्पर्कविहीन भएको विवरण प्रहरीले पत्ता लगाएको छ।

यस्तै, अन्य तीन जनासँग स्पेन पठाउने बहानामा १२ लाख रुपैयाँ ठगी गरेको भन्दै थप उजुरी प्रहरीसम्म पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update