Banner Nepal
ट्रम्पको अभिव्यक्तिपछि ग्रिनल्याण्डमा अमेरिकी संसदीय भ्रमण

काठमाण्डौ — अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त भ्रमण ग्रिनल्याण्ड सरकारको निमन्त्रणामा तय गरिएको हो ।

वाणिज्य दूतावासले प्रतिनिधिमण्डलमा सहभागी सबै सांसदहरूको नाम सार्वजनिक नगरे पनि स्थानीय सञ्चार माध्यमले अमेरिकी सिनेटर लिसा मर्कोव्स्की भ्रमणमा सहभागी हुने अपेक्षा गरिएको जनाएका छन् । मर्कोव्स्की हालै डेनमार्क भ्रमणमा रहेकी थिइन्, जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनबाट ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिन चाहेको अभिव्यक्तिपछि उत्पन्न तनावबारे छलफल भएको बताइएको छ ।

भ्रमणका क्रममा अमेरिकी सांसदहरूले ग्रिनल्याण्डका स्थानीय अधिकारी, संसद् सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ । वाणिज्य दूतावासका अनुसार ती भेटवार्ताको उद्देश्य ग्रिनल्याण्ड सरकार र जनताको दृष्टिकोण बुझ्नु तथा द्विपक्षीय सम्बन्धका विषयमा संवाद गर्नु रहेको छ ।

यसैबीच, शुक्रबार फ्रान्स र क्यानडाले नूकमा आ–आफ्ना वाणिज्य दूतावास स्थापना गरेका छन् । फ्रान्सले ग्रिनल्याण्डमा वाणिज्य दूतावास खोल्दै स्वशासित डेनिस भूभागमा कूटनीतिक कार्यालय स्थापना गर्ने पहिलो युरोपेली संघ सदस्य राष्ट्र बनेको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ । फ्रान्सले जाँ–नोएल पोइरियेलाई नूकका लागि महावाणिज्य दूतको रूपमा नियुक्त गरेको छ, जसबाट फ्रान्सको कूटनीतिक सञ्जाल सुदृढ बनाउने लक्ष्य लिइएको बताइएको छ ।

क्यानडाको नयाँ वाणिज्यदूतावास उद्घाटन समारोहमा क्यानडाकी विदेश मन्त्री अनिता आनन्द, गभर्नर जनरल मेरी साइमन तथा ग्रिनल्याण्डकी विदेश मन्त्री भिभियन मोट्सफेल्ट सहभागी हुनुभएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार साइमनले भ्रमणका क्रममा ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्क अधिराज्यअन्तर्गतको स्वशासित भूभाग हो । यसको रक्षा र विदेश नीतिको जिम्मेवारी कोपनहेगनसँग नै रहेको छ । सन् २०२५ मा पुनः राष्ट्रपति पद सम्हालेपछि डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका भए पनि युरोपेली मुलुकहरूले उक्त प्रस्तावलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update