Banner Nepal
२२ वर्ष अनुभवी पाइलटले उडाएको एअर इण्डियाको विमान दुर्घटनाको कारण यस्तो हुन सक्छ

एअर इण्डिया उडान १७१ (Boeing 787 Dreamliner) को अहमदाबादमा भएको दुर्घटनाको कारणहरू अहिलेसम्म स्पष्ट भएको छैन । दुर्घटनाको पुष्टि पनि हुदै जाला तर विभिन्न विशेषज्ञहरू र प्रारम्भिक विश्लेषणहरूले केही सम्भावित कारणहरूबारे अनुमान गरेका छन् । पहिलो अनुमान इन्जिनसँग सम्बन्धित छ ।

उडानक्षेत्रका विज्ञहरुले इन्जिन विफलतालाई पहिलो सम्भावनाकारुपमा औंल्याएका छन् ।

विशेषज्ञहरूले डबल इन्जिन विफलता हुन सक्छ भनेका छन् तर यस्तो सम्भावना अत्यन्तै न्यून हुन्छ । एकैपटक दुवै इन्जिनले काम नगर्ने समस्या लगभगत दुर्लभनै मानिन्छ । इन्जिनमा मेकानिकल खराबी, इन्धन प्रदूषण फ्यूल कन्टामिनेसन र इन्धन आपूर्ति फ्यूल स्टारभेसनले पनि यस्तो हुने कतिपयको धारणा छ ।

दुर्घटनाअघिको फुटेजलाई हेर्दा विमानले पर्याप्त थ्रस्ट प्राप्त गर्न नसकेको र उडानको केही सेकेन्डमै उचाइ प्राप्त गर्न नसकेको देखिन्छ ।

कतिपयले विमानमा पंक्षी ठोकिएको अनुमान गरेका छन् । अहमदाबाद विमानस्थल पंक्षी ठोक्किने घटनाका लागि निकै चर्चित छ । त्यही भएर पनि विमानमा ठूलो संख्यामा पक्षीहरू विमानको दुवै इन्जिनमा ठोक्किएको हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।

गुजरातमा पछिल्ला पाँच वर्षमा ४ सय ६२ पक्षी विमानमा ठोक्किएको तथ्यांक छ । त्यसमध्ये पनि धेरैजसो अहमदाबाद विमानस्थलमा विमानसँग पंक्षी ठोक्किएका छन् ।

तर यसलाई मात्रै दुर्घटनाको कारण मान्न सकिदैन किनकी पंक्षी ठोक्किएको सूचना पाइलटले तत्कालै पाउने भएकाले यस्तो सूचना राडारले पाएको देखिदैन । फ्ल्याप्स र ल्यान्डिङ गियर सम्बन्धी समस्यालाई पनि अर्को सम्भावित कारण मानिएको छ ।

भिडियोमा देखिए अनुसार विमानको फ्ल्याप्स सहीरुपमा सेट नभएको जस्तो देखिएको विज्ञहरुको भनाई छ । फ्ल्याप्सले टेकअफको समयमा उचाई प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

यदि फ्ल्याप्स सही स्थितिमा थिएनन् भने, विमानले आवश्यक उचाइ प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको हुन सक्ने धेरैको अनुमान छ । ल्यान्डिङ गियर पनि टेकअफ पछि सामान्यतया फिर्ता लिइन्छ, तर भिडियोमा गियर पनि तलै रहेको देखिन्छ, हाइड्रोलिक समस्याका कारण गियर नचलेको हुनसक्ने सम्भावना पनि उतिकै छ ।

केही विशेषज्ञहरूले विमानको गलत कन्फिगरेसन वा टेकअफको समयमा पाइलटको निर्णयमा भएको एरर त्रुटीलाई जिम्मेवार ठहर्याएका छन् । तर त्यो विमानका पाइलटहरु निकै अनुभवी थिए ।

क्याप्टेन सुमित सभरवालले विगत २२ वर्षदेखि विमान उडाइरहेका थिए । उनले २२ वर्षको अवधीमा ९ हजार घण्टाभन्दा बढी विमान उडाएको अनुभव छ ।

यी सबै अनुमानलाई केलाउदा विमान कम्पनीको विश्वसनियतामाथि पनि धेरैले प्रश्न उठाएका छन् । बोइङ ७८७ ड्रीमलाइनरको विगतमा उत्पादन सम्बन्धी केही समस्याहरू देखिएका थिए । कम्पनीका विमानमा यसअघि पार्टपूर्जा जडानका विषयमा पनि प्रश्नहरु सार्वजनिक भएका थिए ।

त्यस्तै कम्पनीले बनाएका अन्य केही विमानका लिथियम ब्याट्रीमा पनि समस्या भएको समाचार बाहिरिएको थियो । मौसमको अवस्था समेत राम्रो भएको अवस्थामा भएको दुर्घटनाले धेरै आशंका उब्जाएको छ ।

दुर्घटनालाई विभिन्न कोणबाट अध्ययन गर्ने काम सुरु भइसकेको छ ।

भारतको Aircraft Accident Investigation Bureau को नेतृत्वमा अमेरिकाको NTSB को टोलीलेले अनुसन्धान सुरु गरीसकेको छ ।

अनुसन्धानको निचोड आउन अझै केही महिना लाग्ने छ । त्यो भन्दा पनि ब्ल्याक बक्सको फ्लाइट डाटा रेकर्ड नआएसम्म यसै भन्न सकिने अवस्था भने छैन ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update