सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्ला केही दिनमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटेका छन् । संघीय सरकार प्रमुखसँग प्रत्यक्ष संवाद गर्न अनिच्छुक देखिएका बालेन यसपटक एक्लै बालुवाटार पुगेर चार बुँदे माग प्रधानमन्त्रीमाथि राखेका छन् ।
सरकारी स्रोतका अनुसार बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेर तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गिरफ्तार गर्न, दुर्गा प्रसाईका गतिविधि नियन्त्रण गर्न, मन्त्रीहरुको कार्यशैली सुधार गर्न र गृहमन्त्री ओमप्रकाश अर्याललाई पदमुक्त गर्न माग गरेका थिए ।
प्रधानमन्त्री कार्कीले बालेनका माग सम्बोधन गर्न कानुनी र आन्दोलनको भावना दुबैलाई सन्तुलनमा राख्दै अघि बढ्ने बताएकी थिइन् । उनले ओली र लेखकमाथि कारबाहीका लागि बनाइएको गौरीबहादुर कार्की आयोगलाई पहिले जाँचबुझ गर्न दिनुपर्नेमा जोड दिएकी थिइन् ।
बालेनले सरकारको सुस्त गतिबारे पनि असन्तुष्टि जनाउँदै मन्त्रीहरुले संक्रमणकालीन जिम्मेवारीप्रति गम्भीरता नदेखाएको उल्लेख गरेका थिए । उनले “सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्छ” भन्ने चेतावनीसमेत दिएका थिए ।
स्रोतका अनुसार बालेनले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई तत्काल पक्राउ गर्नुपर्ने मागसमेत राखेका थिए । उनले प्रसाईले बाह्य इशारामा सरकार चलिरहेको भनी भड्काउ अभिव्यक्ति दिँदै आन्दोलन तयारी गरिरहेको भन्दै तत्काल निगरानीमा लिन आग्रह गरेका थिए ।
त्यस्तै, उनले महानगरका काममा असहयोग गरेको आरोप लगाउँदै संस्कृति क्षेत्रमा सक्रिय गणपतिलाल श्रेष्ठ र मन्त्री सिफारिस सूचीमा रहेका अन्य नामबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री अर्यालबारे बालेनको असन्तुष्टि स्पष्ट थियो । उनले सुशासनका एजेन्डामा सक्रिय देखिएका अर्याल मन्त्री बनेपछि कमजोर देखिएको टिप्पणी गरेका थिए । अर्यालले भने आफू बालेनका प्रतिनिधि नभई प्रधानमन्त्रीको सिफारिसमा मन्त्री बनेको स्पष्ट पारेका छन् ।
बालेन र प्रधानमन्त्रीबीचको भेटपछि सरकार र जेनजी आन्दोलनबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने संकेत राजनीतिक वृत्तमा गरिएको छ ।


