काठमाण्डौ — जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देशभर भएका विध्वंशात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले छानबिन तीव्र पारेको छ। भदौ २३ गते नयाँबानेश्वरमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएपछि आक्रोशित भीडले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानदेखि होटल र सुपरस्टोरसम्म तोडफोड तथा आगजनी गरेका थिए। त्यस क्रममा तीन जना प्रहरीको हत्या पनि भएको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब २५० जनालाई पक्राउ गरिएको छ। सबैभन्दा बढी पक्राउ काठमाडौंमा भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार मंगलबारसम्म ११० जना पक्राउ परेका छन्। तीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा, ३२ जना हिरासतमा र ७२ जनालाई हाजिर जमानीमा रिहा गरिएको छ।
प्रहरीले सिसिटिभी फुटेज, सार्वजनिक भएका भिडिओ तथा प्रत्यक्षदर्शी बयानका आधारमा घटनामा संलग्नहरू पहिचान गरी पक्राउ प्रक्रिया विस्तार गरिरहेको छ। आपराधिक उपद्रवमा संलग्न भन्दै ५४ जनामाथि छुट्टै अनुसन्धान भइरहेको प्रहरीको तथ्यांक छ। तिनमध्ये कतिपयको पुरानो आपराधिक पृष्ठभूमि रहेको पनि प्रहरीले जनाएको छ।
महाराजगन्ज र कोटेश्वरमा तीन प्रहरीको हत्या प्रकरणमा मात्र अहिलेसम्म १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीमाथि कुटपिट, आगजनी, कार्यालय तोडफोड र हतियार लुटपाटमा संलग्नता देखिएको छ।
यस्तै, बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक, टेकुस्थित अपराध अनुसन्धान कार्यालय, सिंहदरबार नजिकको आगजनी, प्रहरी वर्दी दुरुपयोग गर्ने, भीडलाई हिंसात्मक आक्रमणमा उक्साउनेलगायत घटनामा संलग्नहरू क्रमश: पक्राउ भइरहेका छन्।
उता, कास्की जिल्लामा प्रहरी कार्यालयहरूमा आक्रमण गरी हतियार लुटपाट गरेको अभियोगमा १८ जनालाई पक्राउ गरिएको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार तीमध्ये १० जनालाई म्याद थपेर अनुसन्धान जारी छ भने ८ जनालाई धरौटीमा रिहा गरिएको छ।
प्रहरीका अनुसार जेन–जी आन्दोलनमा वास्तविक विरोधकर्ताहरूबीच घुसपैठ गर्दै आपराधिक गिरोहहरूले लुटपाट, आगजनी र हतियार कब्जा गर्ने गतिविधि विस्तार गरेका थिए।
“हामीले पहिला लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दीको खोजीलाई प्राथमिकतामा राखेका छौँ,” एसपी कार्कीले भने, “त्यसपछि सरकारी तथा निजी संरचनामा तोडफोड र आक्रमण गर्नेहरूलाई एक–एक गरी कारबाही गरिन्छ।”


