काठमाण्डौ ।
देशका बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म)को वित्तीय विवरण प्रकाशन तयारीमा छन् । नेपाल राष्ट्र बैंकले विशेष परिस्थिति भन्दै यो वर्ष त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने म्याद कात्तिक २१ गतेसम्मका लागि विस्तार गरेको छ ।
यसअघि सात दिनभित्रै विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले तिहारलगायत पर्वको कारण समय अभाव देखाउँदै असोज मसान्तसम्म उठ्नुपर्ने रकम कात्तिक १५ भित्र उठेमा त्यसलाई पहिलो त्रैमासकै आम्दानीमा गणना गर्न पाउने सुविधा दिएको छ ।
तर, बैंकहरूका लागि यो सहुलियतले पनि ठूलो राहत दिएको छैन । ऋण असुलीमा देखिएको समस्या, बढ्दो तरलता र कमजोर आर्थिक अवस्थाले बैंकिङ क्षेत्र गम्भीर दबाबमा परेको छ ।
ग्लोबल आइएमई बैंकका डेपुटी प्रमुख कार्यकारी सुमन पोखरेलका अनुसार, अहिले पनि बैंकहरू असुलीमा व्यस्त छन् । ‘‘असोजमा धेरै चाडबाड परे, अर्थतन्त्र सुस्त छ, प्रेसर परेकै छ,’’ पोखरेलले भने, ‘‘१५ गतेसम्मको असुलीलाई गणनामा समावेश गर्न पाउने व्यवस्था छ, त्यसैले बैंकहरूले अन्तिमसम्म प्रयास गरिरहेका छन् ।’’
तर, बैंकहरूले अहिलेसम्म अघिल्ला वर्षको तुलनामा आधा मात्र असुली भएको बताएका छन् । छठ बिदा सकिएसँगै असुली बढ्ने अपेक्षा भए पनि ठूला परिणामको आशा गर्न नसकिने बैंकरहरूको धारणा छ ।


