काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलका १६ र जेनजी समूहका १४ जना प्रतिनिधिको सहभागिता रहने भएको छ। निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमति विस्तार गर्ने उद्देश्यले पहिलोपटक यस्तो स्वरूपको छलफल आयोजना गरिएको हो। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा बस्दैछ।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुने जानकारी प्रेस संयोजक रामबहादुर रावलले दिएका छन्। जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’ का १४ प्रतिनिधि उपस्थित हुनेछन्।
छलफलको कार्यसूचीमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समग्र वातावरण निर्माण, विश्वास र राजनीतिक समझदारी अभिवृद्धि गर्ने विषय मुख्य रूपमा समेटिएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमालेबाट एक पदाधिकारी सहित केन्द्रीय सदस्य महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र माधव सापकोटा सहभागी हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ उपस्थित हुनेछन्।
सरकारले प्रतिनिधिसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने लक्ष्य सहित चरणबद्ध संवाद प्रक्रिया अघि बढाइरहेको छ। यसअघि कात्तिक ४ गते राजनीतिक दलहरूसँग र राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छुट्टाछुट्टै छलफल भइसकेका छन्।


