काठमाण्डौ — प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारी प्रणालीलाई सुरक्षित, पारदर्शी तथा श्रमिकमैत्री बनाउनु आजको प्राथमिक आवश्यकतामध्ये एक भएको बताएकी छन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले श्रमिक स्वाभिमान र सुरक्षालाई केन्द्रमा राखेर नीतिगत सुधार आवश्यक पर्ने धारणा राखिन्।
प्रधानमन्त्री कार्की, जो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी मन्त्रीसमेत रहेकी छन्,ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आवश्यक सीप प्रदान गर्दै दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइन्। विदेशबाट फर्किएका श्रमिकको पुनःएकीकरण सहज बनाउने तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न बोर्डले प्रभावकारी कार्यक्रम अघि बढाउनुपर्ने उनले उल्लेख गरिन्।
उनका अनुसार वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि र सीपलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति सरकारका प्राथमिकतामा रहेको छ। यसक्रममा, बोर्डले सञ्चालन गरेको ‘कल सेन्टर’ तथा ‘टेलिमेडिसिन’ सेवा श्रमिक हितमा उपयोगी देखिएको उल्लेख गर्दै उनले कल्याणकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सहज र उपलब्धिमूलक बनाइरने कदमलाई सराहना गरिन्।
प्रधानमन्त्री कार्कीले स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू निर्माण गर्दै सीपआधारित उद्यम विस्तार र पुनःएकीकरण कार्यक्रमलाई प्राथमिकता दिइने बताइन्। साथै, उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ठोस कार्ययोजना तयार गरी प्रभावकारी कार्यान्वयनमा अघि बढ्न निर्देशन दिइन्।


                                                
                                                
                                                
                    
                    
                    
                    
                    