काठमाण्डौ । मुस्ताङमा मङ्गलबार बिहानैदेखि सिजनको पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बस्ती तथा आसपासका क्षेत्र हिमपातले ढाकिएका छन् ।
तिब्बतसँग सीमा जोडिएका छोसेर, छोन्हुप, घमी, चराङ, सुरखाङ र कोरला नाका आसपासका उच्च हिमाली क्षेत्रमा पनि बाक्लो हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ बजारमै हिमपात भइरहेको र चिसो तीव्र रुपमा बढेको छ । ‘‘उपल्लो मुस्ताङतर्फ गइरहेका पर्यटकले विशेष सतर्कता अपनाउन आवश्यक देखिन्छ,’’ पौडेलले भन्नुभयो ।
यता वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा वर्षा भइरहेको वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताए । त्यस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा समेत हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । मन्दिर क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताए ।
हिमपातसँगै मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भइरहेकाले चिसो बढेको र दैनन्दिन गतिविधि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले पर्यटकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले हिमपात र वर्षाले यात्रा जोखिमपूर्ण हुनसक्ने भन्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएका छन् ।
गतवर्ष हिमपात नपरेको मुस्ताङमा यसपालिको हिमपातले कृषकहरू उत्साहित बनेका छन् ।


