Banner Nepal
मकवानपुरमा दुर्घटना : एकको मृत्यु, छ घाइते

काठमाण्डौ । मकवानपुरमा भएको तीन छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका–८ राजपानी टोलमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा कमानेका २४ वर्षीय आयुष बस्नेतको शनिबार राति मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका बस्नेतको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ६ः३४ बजे मृत्यु पुष्टि गरिएको हो।

यस्तै, मदन भण्डारी लोकमार्गअन्तर्गत बकैया गाउँपालिका–४ पानधुरेमा शनिबार राति मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा चालक २५ वर्षीय फुर्साङ घलान, पछाडि सवार १७ वर्षीय आकाश भोलन र पैदलयात्री बद्री गौतम घाइते भएका छन्। भोलनको अवस्था सामान्य रहेको छ भने घलान र गौतमलाई अवस्था गम्भीर भएपछि उपचारका लागि नयाँ मेडिकल कलेज, चितवनमा रिफर गरिएको छ।

फाखले–हुमाने–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–४ महालक्ष्मी खोलामा विद्युतीय गाडी सडक चिप्लिएर करिब २०–२२ मिटर तल खस्दा चालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये रौतहट परवाहा नगरपालिकाका प्रवेश अन्सारी र मुसाद आलमको काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अर्को एक जना घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update