Banner Nepal
नागरिक सर्बोच्चताको खोजी नै अहिलेका जनताको चाहना :  युबराज सङ्ग्रौला

समाज परिवर्तनको आफ्नो गति हुन्छ, र यो गतिलाई नै गौतम  बुद्धले अस्थाइत्वको सिद्धान्त“ भनेको हो ।

बेग सुस्त होला, तर समाज पनि नदि जस्तै हो, जो लाग्न त एकै ठाउँमा छ जस्तो लाग्छ तर अधि देखेको त गैसकेको हुन्छ ।
स्वस्फुर्त परिवर्तन कसैका लागि आउने होइन ।

यस्ले “बिगत र आगत“ वा “उत्पत्ति र विलय“ का बीचमा पृथकता मात्र खिच्छ । यो पृथकतालाई परिवर्तनका नेतृत्व गर्नेहरुले समग्र मानिसको हितका लागि व्यवस्थापन गर्नुपर्छ । यसो भनेको “बर्तमान अवस्थालाई बदल्दै भविष्यलाइ“ सुगम बनाउनु पर्छ ।

त्यसो गर्न बर्तमानमा रहेको “प्रणालीलाई“ फेर्नु पर्छ । त्यसो गर्न बिचार चाहिन्छ । बिचार सिद्धान्त, कार्यक्रम र रणनीतिको योगका रुपमा रहन्छ ।

बिचार बिनाको परिवर्तन भनेको पानीका नाममा रित्तो बाल्टी फेरेजस्तो हो । यंहि छ आजसम्म नेपालको राजनीति परिवर्तनको असफलताको कारण । परिवर्तनका नाममा केवल एउटा सत्ता ढालेर अर्को सत्ता निर्माण भयो ।

२००७ सालमा राणाशाही ढालेर, कांग्रेसको सरकार आउनुलाइ क्रान्ति भनियो, २०१७ मा कांग्रेस ढालेर पंचायत आयो त्यो पनि परिवर्तन नै भनियो, २०४६ सालमा पंचायत ढालेर बहुदल आयो, २०६३ मा २०४६को बहुदल ढालेर अर्को बहुदल आयो । तर बिगत बदलिएन, नयाँ वर्तमान बनेन, र भविष्यको मार्ग नै बनेन ।

आज नेपालको परिवर्तनको रुप गुजमुटिएको धागोको डल्लो जस्तो भएको छ । यो धागोको डल्लो अनेक स्वार्थले बनेको छ । अतः अब, नागरिकले राज्यमा आफ्नो सर्बोच्चता खोज्नु पर्छ ।

१. पटक पटक व्यवस्था फेरिए, तर संविधानले नेपालीको भविष्य प्रक्षेपण गर्न सकेनन् ।
२. परीणामस्वरुप, राज्य रास्ट्रको नेतृत्व गर्न सामथ्र्य भएन । यहि बिन्दुमा दलहरू मनोमानी गर्न थाले, र आज अपमानित भएका छन् ।
३. राज्यका संस्थाले कर्म गर्न सकेनन् ।

यस्तो अवस्थामा परीवर्तनका नाममा केवल रंङ्ग बद्लने मानिसको जमात प्रकट हुन्छ र त्यसले अराजकता निर्माण गर्छ। दिगो परिवर्तनकालागि बिचार चाहिन्छ, त्यसले

क. समाजको आर्थिक र समाजशाश्त्रीय बर्ग विश्लेषण गर्छ । 
ख. हस्तक्षेपका प्राथमिकता निर्धारण गर्दछ ।
ग. परीकल्पित समाजको खाका तयार पार्दछ, र
घ. त्यो प्राप्त गर्ने रणनीति तर्जुमा गर्दछ ।

अहिले राजनीतिमा यो सोचको कमि छ। सत्तासिनमा केवल पदका लागि व्यक्तिका बिचमा प्रतिस्पर्धा छ र सत्ता बाहिरकामा सत्ताप्राप्त गर्ने अतृप्त चाहाना छ । उन्नयनका अर्थमा परिवर्तन “आम नागरिकको आवस्यकता हो ।“ नागरिक सर्बोच्चताको खोजी नै जनताको चाहना हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update