Banner Nepal
विभिन्न कार्यक्रमसहित आज सगरमाथा दिवस मनाइँदै

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहणको सम्झनामा आज विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइँदैछ ।

हरेक वर्ष मे २९ मा मनाइने यो दिवस सन् १९५३ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक क्षणको स्मरणमा मनाउने गरिएको हो ।

दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा स्थानीय तहहरूले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम आयोजना गरेका छन् ।

नेपाल पर्यटन बोर्ड र सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा कर्मचारी सञ्चय कोष परिसरबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी जमलस्थित नाचघरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको जनाइएको छ ।

सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रिय पहिचानको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागका अनुसार हालसम्म ८ हजारभन्दा बढी पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

विश्वका १४ वटा अग्ला हिमालमध्ये ८ वटा नेपालमा रहेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय असर देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्दै आएको छ ।

सरोकारवाला संघसंस्थाले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहण तथा स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षबीच साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update