काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।
संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था रहेकाले आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइ समर्थनसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो ।
सरकारले सांसदहरूबाट प्राप्त सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र, सुशासनको मार्गचित्र तथा आर्थिक सुधारका प्राथमिकतालाई बजेटको केन्द्रमा राखेको जनाएको छ ।
यसपटकको बजेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने तयारी गरिएको छ । अनावश्यक सरकारी खर्च कटौती, निजीक्षेत्रको प्रवर्धन, वित्तीय अनुशासन र सुशासनलाई प्राथमिकतामा राख्दै बजेट निर्माण गरिएको बताइएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो । तर, उक्त सीमाभित्र बजेट समेट्न कठिन भएपछि स्रोत समितिले अर्थमन्त्रीको आग्रहमा सिलिङ बढाएर करिब साढे २१ खर्ब रुपैयाँ हाराहारी पुर्याएको छ ।
यदि सोही आकारको बजेट सार्वजनिक भए चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब साढे ४ खर्ब रुपैयाँ बढी हुनेछ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ ।


