Banner Nepal
सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाण्डौ — अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन सट्टेबाजीसम्बन्धी सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन्। शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरण ले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गर्दै यस्ता प्लेटफर्महरू निष्क्रिय बनाएको हो।

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने का अनुसार अवैध रूपमा सञ्चालन भइरहेका सट्टेबाजी प्लेटफर्म पहिचान गरी बन्द गर्न निर्देशन दिइएको थियो। पछिल्लो एक सातामा मात्रै टेलिफोन, इमेल र सन्देशमार्फत ५० भन्दा बढी गुनासा प्राप्त भएपछि ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको उनले बताए।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारका एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ ले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरेको थियो। सोही आधारमा सबै पहिचान भएका प्लेटफर्म तुरुन्त बन्द गरिएका हुन्।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन निषेध गरिएको छ। उल्लङ्घन भएमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा वा सट्टेबाजी प्रोत्साहन गर्ने विज्ञापन गर्न रोक लगाएको छ।

सरकारले अवैध सट्टेबाजी प्लेटफर्म प्रयोग नगर्न सर्वसाधारणलाई पुनः आग्रह गर्दै अनधिकृत गतिविधिमा संलग्न पाइए कडा कारबाही हुने चेतावनी दिएको छ। साथै शंकास्पद एप वा वेबसाइटबारे जानकारी भए सम्बन्धित निकायमा सूचित गर्न अपिल गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update