काठमाण्डौ । मुस्ताङमा उच्च हिमाली क्षेत्रको ‘हाई अल्टिच्युड’ अर्थात् लेक लाग्ने समस्याका कारण चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शनका लागि आएका धार्मिक पर्यटकमध्ये लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा रहेको छ। प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार चालु आर्थिक वर्षको साढे १० महिनामा १३ जनाको मृत्यु भएको हो। मृतकमध्ये नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशीतर्फ सात पुरुष र दुई महिला रहेका छन्।
प्रहरीका अनुसार मृत्यु भएका सबै पर्यटक वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका क्षेत्रमा लेक लागेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्याइएका थिए। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो।
मुस्ताङमा विशेषगरी भारतीय पर्यटकहरू लेक लाग्ने समस्याबाट बढी प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ। समथर भूभागबाट प्रत्यक्ष रूपमा तीन हजार मिटरभन्दा माथिको हिमाली क्षेत्रमा पुग्दा पर्याप्त स्वास्थ्य सावधानी नअपनाउने कारणले यस्तो जोखिम बढ्ने गरेको सरोकारवालाहरूको भनाइ छ। उच्च उचाइमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्यटकहरूमा श्वासप्रश्वास तथा अन्य स्वास्थ्य समस्या देखिने गर्छ।
लेक लाग्ने जोखिम न्यूनीकरण गर्न प्रदेश जनस्वास्थ्य कार्यालय, Annapurna Conservation Area Project (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी–मुस्ताङ सिमानाको घाँसा क्षेत्रमा समेत सचेतनामूलक साइनबोर्ड राखिएको छ।
एक्याप प्रमुख राजेश गुप्ता का अनुसार घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने स्थानहरूमा हाई अल्टिच्युडसम्बन्धी जानकारीमूलक बोर्ड राखिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयले पनि ब्रोसर तथा सचेतनामूलक सामग्री वितरण गर्दै आएको जनाएको छ।
मुक्तिनाथ क्षेत्रका होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर तथा लेक नलाग्ने औषधिको व्यवस्था गरिएको सुरज गुरुङ ले जानकारी दिनुभयो। यद्यपि, पर्यटकलाई पर्याप्त जानकारी नदिई एकैपटक उच्च हिमाली क्षेत्रमा पुर्याउने प्रवृत्तिले समस्या अझ जटिल बनाएको स्थानीय स्वास्थ्यकर्मीहरूको भनाइ छ। उनीहरूका अनुसार उच्च स्थानमा यात्रा गर्दा बीचबीचमा विश्राम गर्दै शरीरलाई वातावरणसँग अभ्यस्त बनाउन आवश्यक हुन्छ।
दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि मुक्तिनाथ क्षेत्रमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालनमा रहेको छ। वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरा का अनुसार मुक्तिनाथ मन्दिर परिसर तथा मन्दिर जाने सिँढीमार्गमा रहेका विश्रामस्थलबाट उक्त सेवा प्रदान हुँदै आएको छ।


