काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले गाजाको थप क्षेत्र कब्जा गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् ।
नेतान्याहुले गाजाको करिब ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन सेनालाई आदेश दिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलको यो कदमलाई हमाससँग अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताविपरीतको गतिविधिका रूपमा हेरिएको छ ।
हाल गाजा क्षेत्र समुद्री तट आसपासको सानो भूभागमा सीमित हुँदै गएको छ । विभिन्न अन्तरराष्ट्रिय विश्लेषणअनुसार इजरायलले यसअघि नै गाजाको झण्डै ६४ प्रतिशत क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिसकेको अनुमान गरिएको छ ।
अब बाँकी क्षेत्रको अधिकांश भाग पनि नियन्त्रणमा लिने रणनीतिमा इजरायल अघि बढेको बताइएको छ ।
सन् २०२३ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्ध दुई वर्षदेखि जारी छ । लामो सैन्य अभियानका कारण गाजाको ठूलो भूभाग ध्वस्त हुनुका साथै मानवीय संकट समेत गहिरिँदै गएको अन्तरराष्ट्रिय समुदायले जनाएको छ ।


