काठमाडौँ। अमेरिका र इरानले जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको अन्तरिम समझदारीपत्र (एमओयू) सार्वजनिक गरेका छन्। दुवै देशका राष्ट्रपतिले डिजिटल हस्ताक्षर गरिसकेको उक्त सहमति बुधबारदेखि कार्यान्वयनमा आएको बताइएको छ भने औपचारिक हस्ताक्षर कार्यक्रम शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको छ।
सम्झौतामा युद्ध र सैन्य गतिविधि अन्त्य गर्ने, हर्मुज जलडमरूमध्यमा समुद्री आवतजावत पुनः सुचारु गर्ने, इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने तथा दीर्घकालीन शान्ति सम्झौताका लागि ६० दिनभित्र थप वार्ता गर्ने विषय समेटिएका छन्। इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
यो सहमतिले यसअघि घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि विस्तार गरेको छ। यस अवधिमा दुवै पक्षले स्थायी शान्ति सम्झौताको खाका तयार पार्ने अपेक्षा गरिएको छ। यद्यपि, परमाणु कार्यक्रम, मिसाइल क्षमता तथा क्षेत्रीय प्रभावजस्ता जटिल विषयहरू अझै अन्तिम निष्कर्षमा पुगिसकेका छैनन्।
फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनका नेताहरूले पनि सम्झौताको स्वागत गरेका छन्। तर अमेरिकी अधिकारीहरूले अन्तिम र बाध्यकारी सम्झौता नभएसम्म दुवै पक्षबाट जोखिम पूर्ण रूपमा समाप्त नभएको बताएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमतिका सर्तहरू उल्लङ्घन गरे पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले दुवै पक्षका वार्ताकारहरू स्थायी युद्धविराम र दीर्घकालीन समाधानका लागि काम गरिरहेको बताए।
सम्झौतापछि विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएको छ। हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने अपेक्षाले कच्चा तेलको मूल्य घटेको थियो। तर ट्रम्पको पछिल्लो चेतावनीपछि बजारमा केही अस्थिरता पुनः देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


