काठमाण्डौ — अमेरिका र रूसबीच खुफिया सूचनाको आदानप्रदानसम्बन्धी प्रस्तावलाई लिएर कूटनीतिक तनाव बढ्दै गएको छ।
रूसी पक्षले युक्रेनलाई अमेरिकाले दिइरहेको खुफिया सूचना बन्द गरे आफूले पनि इरानलाई त्यस्तो सहयोग नगर्ने प्रस्ताव अघि सारेको थियो। यो प्रस्ताव गत साता अमेरिकाको मायामीमा स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको भेटमा रूसी दूत किरिल दिमित्रिएभले राखेका थिए।
तर उक्त प्रस्तावलाई डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी पक्षले अस्वीकार गरेको जनाइएको छ। अमेरिकी सञ्चारमाध्यम Politicoले स्रोतहरूलाई उद्धृत गर्दै यसबारे जानकारी सार्वजनिक गरेको हो।
यद्यपि प्रस्ताव अस्वीकार गरिए पनि यस घटनाले युरोपेली मुलुकहरूमा थप चिन्ता उत्पन्न गरेको छ। भ्लादिमिर पुटिनले अमेरिका र युरोपबीच दूरी बढाउने रणनीति अपनाइरहेको आशंका त्यहाँ व्यक्त गरिएको छ।
यसैबीच, इरानले आफूलाई रूसबाट सैन्य सहयोग प्राप्त भइरहेको स्वीकार गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले एक अन्तर्वार्तामा युद्धको समयमा रूसलाई रणनीतिक साझेदारको रूपमा व्याख्या गरेका छन्।
अमेरिकी तथा इजरायली संरचनामाथि भइरहेका आक्रमणमा सटिक सूचना प्रयोग भइरहेको भन्दै रूसले इरानलाई खुफिया सहयोग गरिरहेको हुन सक्ने विश्लेषण पनि भइरहेका छन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने संकेत गरेका थिए।


