Banner Nepal
गणतन्त्र दिवसमा टुँडिखेलमा विशेष समारोह, उच्च पदस्थको सहभागिता

काठमाण्डौ । देशभर आज १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाबाट राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो ।

संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक निर्णयको सम्मानस्वरूप दिवस मनाइँदै आएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिले काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले मार्चपाससहित सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन् । साथै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ भने आन्दोलनमा योगदान पुर्‍याउने अग्रजहरूको स्मरण गरिने कार्यक्रम छ ।

यस वर्षको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने पुरानो अभ्यास परिवर्तन गर्दै राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष पत्राचारमार्फत समारोह सम्बोधनको आग्रह गरेका हुन् ।

दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

यसैबीच, गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत जनमुखी सेवा, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् । उनले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई थप सुदृढ र जीवन्त बनाउन समावेशिता, समानता र न्यायका आधारमा दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत, समृद्ध र सुदृढ गणतन्त्र नै हुने धारणा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update