Banner Nepal
तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान

काठमाण्डौ । देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना रहेको छ । गएरातिदेखि काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

नेपालको पूर्वी भूभाग नजिक सक्रिय रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभर वर्षाको सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस, कोसी र वाग्मती प्रदेशका तराई क्षेत्रका कतिपय स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

केही दिनदेखि अत्यधिक गर्मीको सामना गरिरहेका क्षेत्रहरूमा समेत वर्षाको सम्भावना रहेकाले जनजीवनमा राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी पश्चिम तराईमा देखिएको अत्यधिक गर्मीको अवस्था गएरातिदेखि केही कम भएको बताइएको छ ।

मौसमविद्का अनुसार आगामी तीनदेखि चार दिनसम्म वर्षाका कारण पश्चिम तराईलगायतका क्षेत्रमा मौसम अपेक्षाकृत शीतल रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update