Banner Nepal
केएसएलमा डिजिटल संस्कारबारे बहस: इन्टरनेटको छायाँतिर नजर

काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) मा सामाजिक सञ्जाल र इन्टरनेटमा बढ्दो नकारात्मक प्रवृत्तिबारे व्यापक बहस सम्पन्न भएको छ। २७ असारमा आयोजित कार्यक्रममा कानुन, प्रशासन, मानवअधिकार, मनोविज्ञान, प्रविधि र शिक्षासम्बद्ध विशिष्ट व्यक्तिहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुआतमा केएसएल रिसर्च विभाग प्रमुख प्रा. प्रदीप पाठकले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानव सम्बन्ध र सामाजिक व्यवहारमा गम्भीर असर पारिरहेको बताए। बीबीसी, फ्रिडम फोरम, साइबर ब्युरोका तथ्यांक उद्धृत गर्दै उनले डिजिटल प्लेटफर्महरू मार्फत फैलने नकरात्मकता भावी पुस्ताका लागि खतरा बनेको धारणा राखे।

नेपाल खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाईले सामाजिक सञ्जालमा देखिएको विकृति समाजको संरचनात्मक कमजोरीसँग जोडिएको भन्दै समाधान पनि संरचना भित्रै खोज्नुपर्ने बताए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले डिजिटल अभिव्यक्तिमा कानुनी चेतना अपरिहार्य रहेको बताए।

विज्ञ कपिल अर्यालले कानुनी पक्षलाई केन्द्रीत गर्दै, नेपाल प्रहरी साइबर ब्युरोमा २०२५ को पहिलो छ महिनामै झण्डै २० हजार उजुरी दर्ता भएको तथ्य प्रस्तुत गरे। उनले १८ वटा कानून कार्यान्वयनमा रहे पनि साइबर अपराधसम्बन्धी स्पष्ट परिभाषा अभावमा समस्या देखिएको बताए।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक नारायण शर्माले सामाजिक सञ्जाल सत्य बिना नै बदनाम गर्ने हतियार भएको बताए। पूर्वसचिव प्रतापकुमार पाठकले नकरात्मकताको असर राजनीतिक र सामाजिक अस्थिरता तथा आत्मबल घटाउने गरी देखिएको भन्दै डिजिटल साक्षरता र जवाफदेहिता बढाउनुपर्ने धारणा राखे।

इन्टरनेट सेवा प्रदायक, प्रेस काउन्सिल, साइबर ब्युरो र मानवअधिकार आयोगका प्रतिनिधिहरुले प्रत्यक्ष अनुभव सुनाउँदै प्रविधिको प्रयोग संयमित बनाउनु आवश्यक रहेको उल्लेख गरे। आत्महत्या दरमा समेत वृद्धि भएको यथार्थ प्रस्तुत गर्दै मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीले नकरात्मकता नियमन गर्ने चेतनामूलक अभियानको खाँचो औंल्याए।

कार्यक्रमको समापन मन्तव्यमा पूर्वसदस्य सुदीप पाठकले सामाजिक सञ्जालको सदुपयोग आत्मचिन्तन र जिम्मेवार व्यवहारसँग जोडिएको बताए। कार्यकारी निर्देशक युवराज संग्रौलाले सबै सरोकारवालाको सहभागितामा डिजिटल नैतिकता र निगरानी संयन्त्र निर्माणको प्रस्ताव राखे।

कार्यक्रमको अन्त्यमा कार्यकारी अध्यक्ष गोविन्द कुसुमले सहकार्य, सतर्कता र सकरात्मक सोचमार्फत मात्र समाजले इन्टरनेटको वास्तविक शक्ति उपयोग गर्न सक्ने बताए। कार्यक्रममा सहभागी वक्ताहरूलाई कदरपत्र प्रदान गर्दै विमर्श समापन गरिएको थियो।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update