
बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरको रूपमा जब पदभार सम्हाले, उनले युवाहरूमा ठूलो आशा र उत्साह जगाएका थिए । तर, समयसँगै ती सपना कार्यान्वयनमा गर्न निरन्तर असफल बन्दै गएका छन् । साहले चुनावमा ठूलो सपना देखाएर जनताको मन जितेका थिए, तर उनको कार्यकालमा समेत अपेक्षित काम नभएको तिनै मतदाताहरुले भन्न थालेका छन् ।
महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेर उनी विजयी भएपछि देशभरि परिवर्तनको आशा जगेडा भएको थियो ।
पारम्परिक राजनीति र भ्रष्ट शैलीप्रति असन्तुष्ट जनताले उनलाई वैकल्पिक नेतृत्वको रूपमा आशा गरेका थिए । तर तीन वर्षको कार्यकालपछि ती बहुप्रतिक्षित सपना अधुरा हुन थालेको देखिन्छ ।
भिन्नै क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साहलाई प्रशासनिक संयन्त्र चलाउने ढंग नपुगेको भनेर कतिपयले आलोचना गरेको विषयलाई उनी स्वयम्ले पनि बेला बेलामा पुष्टि गरिदिएका छन् । नगरपालिकाजस्तो बहुआयामिक निकाय सफल सञ्चालन गर्न सम्बन्धित सरकारी निकायहरूसँग घनिष्ठ समन्वय आवश्यक हुन्छ भन्ने उनले ख्याल गर्न सकेनन् ।
समन्वय र सहकार्यको साटो बालेनले संघीय र प्रदेश सरकारसँग द्वन्द्वको शैली अपनाए । प्रमुख प्रशासकीय अधिकृतसँगको द्वन्द्व, नगर प्रहरीको अनावश्यक प्रदर्शन, र प्रक्रियागत नियमको अटेरीले प्रशासनिक कामकाजमा उनलाई नै ब्याक फायर भइदियो वडाध्यक्षहरू, नगरसभा सदस्यहरू र कार्यपालिका सदस्यहरूबीचको असन्तुलन मेयरको निर्णयशैलीमा पनि देखियो ।
बैठक नबोलाईकन एकलौटी निर्णय गर्ने , योजनाहरूमा सुझाव नलिने प्रवृत्तिले उनी एकलौटी महाराज जस्तो बन्न थाले ।
उनको बचकना प्रवृत्तीले लोकतान्त्रिक स्थानीय शासनको मर्ममाथि बारम्बार चोट थपिदियो । सामाजिक सञ्जालमा अत्यधिक क्रियाशीलता राख्ने बालेनको शैली सुरुमा प्रभावकारी लागे पनि, पछि उनले प्रयोग गरेका अभिव्यक्तिहरू विवादास्पद बन्न पुगे ।
“सिंहदरबार जलाउँछु” जस्ता वाक्यहरूले राजनीतिक संवेदनशीलता बढाए भने, आलोचना प्रतिको असहिष्णुताले सामूहिक नेतृत्वको भावनालाई कमजोर बनायो ।
बालेनले थालनी गरेका केही अभियानहरू, जस्तै फुटपाथ मिचाइको विरुद्ध डोजर अभियान, प्रचारमुखी भए पनि दीर्घकालीन समाधानका पक्षमा कमजोर देखिए ।
बस्तुस्थितिमा सुधार ल्याउनेभन्दा “देखिने” कामहरूमा जोड दिइएको आरोप लाग्यो । पुँजीगत खर्च गर्न नसक्नु , कर्मचारी प्रशासनमा समन्वयको अभाव देखिनु, र सेवा प्रवाहमा ढिलाइ हुनुले उनको कार्यक्षमताप्रति अहिले निरन्तर प्रश्नहरु उठिरहेका छन् ।
स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भए पनि, बालेनसँग नगरसभामा बहुमत नभएकोले नीति निर्माण र पारित प्रक्रियामा पनि उनले प्राविधिक कठिनाइ भोग्नुपरेको छ ।
राजनीतिक दलहरूसँग सहकार्य गर्न नसक्नुले योजनाहरू रोकिए, जसकार कारण जनतामा निराशा बढ्यो त्यो उनले आफ्ना नागरिकलाई बुझाउन सकेनन् ।
बालेन साहको नेतृत्वले स्थानीय राजनीतिमा आशा र साहसको नयाँ लहर ल्याएको हो । तर, नेतृत्व शैलीमा पारदर्शिता, संस्थागत समन्वय, र दीर्घकालीन रणनीतिक सोचको अभावले ती सपना अहिले अलपत्र परेका छन् ।
परिवर्तनको चाहना मात्र पर्याप्त हुदैन त्यसलाई कार्यान्वयन गर्न सहकार्य गर्न सक्ने , समावेशिता रुचाउने र परिपक्व नेतृत्व आवश्यक पर्दो रहेछ भन्ने महानगरवासीले बुझ्न थालेका छन् ।