Banner Nepal
निर्वाचन सुरक्षामा सरकार प्रतिबद्ध: गृहमन्त्री अर्याल

काठमाण्डौ — गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्वाचन सम्पन्न गराई निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्यसँग अघि बढिरहेको बताएका छन्। भैरहवामा गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला र कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले दण्डहीनता कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिए।

अर्यालका अनुसार आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको छ। सुशासनको आधार निर्माण गर्दै भोलि फेरि अव्यवस्था दोहोरिन नदिने वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहेको उनले स्पष्ट पारे।

“हाम्रा छोराछोरीले हाम्रो कार्यशैलीप्रति उठाएको प्रश्नले चेतना दिन्छ,” उनले भने, “यदि अहिले पनि सचेत नबने अर्को दुर्घटना टारिन्छ भन्न सकिन्न, त्यसैले अभिव्यक्ति दिने हरेकले जिम्मेवारीपूर्वक बोल्नुपर्छ।”

उनले व्यक्तिगत अभिलाषाले होइन, देशको विशेष परिस्थितिले आफूलाई जिम्मेवारी दिएपछि त्यसअनुसार काम गरिरहेकाे उल्लेख गरे। देशमा उत्पन्न शून्यतालाई चिर्नुपर्ने आवश्यकताले वर्तमान नेतृत्वले विशेष भूमिकासहित काम गरिरहेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update