Banner Nepal
बाँकेमा १६ हजारभन्दा बढी नयाँ मतदाता दर्ता

आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा १६ हजारभन्दा बढी नागरिकले नयाँ मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका छन्। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हालसम्म १६ हजार ८११ जनाले आफ्नो विवरण दर्ता गराइसकेका छन्, जसमा युवा उमेर समूहको सहभागिता उल्लेखनीय रूपमा देखिएको छ।

उहाँका अनुसार ११ हजार ७११ जनाले कार्यालयमा उपस्थित भएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने पाँच हजार १०० जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत दर्ता पूरा गरेका छन्। कार्यालयमा आएर दर्ता गराउनेमध्ये पाँच हजार ८३७ पुरुष र पाँच हजार ८७४ महिला रहेका छन्। अनलाइन दर्ताका विवरणलाई लैंगिक आधारमा छुट्याउने कार्य जारी छ।

दर्ता अवधि कात्तिक मसान्तदेखि मंसिर ५ गतेसम्म थप गरिए पनि दर्ता गराउनेको संख्या निरन्तर बढिरहेको कार्यालयले जनाएको छ। धेरैको नाम अझै पनि सूचीकृत हुन बाँकी रहेको अनुमान गरिएको छ।

कार्यालयका अनुसार नयाँ दर्तामध्ये ठूलो हिस्सा १८ देखि २५ वर्ष उमेर समूहका युवाहरुको छ। २०७९ सालको निर्वाचनमा बाँकेमा कुल तीन लाख ३३ हजार ९३४ मतदाता थिए—एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ अन्य मतदाता सहित।

आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले नयाँ नाम दर्ता गर्ने, त्रुटि सच्याउने तथा मतदाता स्थानान्तरणको प्रक्रिया सहज बनाएको छ। दर्ता गराउनेमध्ये नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका युवाहरुको हिस्सा बढी रहेको पनि कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update