काठमाण्डौ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्ने औपचारिक घोषणा गरेका छन्। आज सार्वजनिक गरिएको लिखित वक्तव्यमार्फत उनले देशभरका कार्यकर्ताबाट प्राप्त आग्रह र सल्लाहलाई स्वीकार गर्दै अध्यक्ष पदमा दाबी अघि सारेका हुन्।
वक्तव्यमा पोखरेलले पार्टी पुनर्गठन तथा रूपान्तरणका लक्ष्यसहित सामूहिक नेतृत्वको आधारमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै समग्र नेतृत्व संरचनालाई सुदृढ बनाउने आफ्नो योजना रहेको उनले उल्लेख गरेका छन्।
पार्टीभित्र देखिएको अन्तर्कलहपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई समर्थन गरेको बुझिएको छ। महाधिवेशन प्रतिनिधि छनोटपछि औपचारिक प्यानल घोषणा गर्ने तयारी रहेको स्रोतले बताएको छ।
पोखरेलले एमालेमा स्थापित आन्तरिक लोकतन्त्रका मान्यतालाई सम्मान गर्दै अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणमा सहयोगी भूमिका निभाउने विश्वास व्यक्त गरेका छन्। उनले अभिभावकीय जिम्मेवारीसहित पार्टीलाई सहज निकास दिन ओलीलाई आग्रह गरेका छन्।

