काठमाण्डौ — नेपाली कांग्रेस ले पार्टीलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ‘जरा अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। महामन्त्री प्रदीप पौडेल का अनुसार २०८३ वैशाख १ गतेदेखि सुरु हुने यो अभियान एक महिनासम्म देशभर सञ्चालन गरिनेछ।
७७ वटै जिल्ला र तल्लो तहसम्म केन्द्रित अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधिहरू खटाइने र त्यसका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक, पार्टी गतिविधिको समीक्षा, जनतासँग अन्तरक्रिया तथा युवासँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ।
महामन्त्री पौडेलका अनुसार सामाजिक तथा सिर्जनात्मक अभियान सञ्चालन गर्नुका साथै स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्गदर्शन तथा सहजीकरण गर्ने उद्देश्य समेत अभियानले बोकेको छ।
कार्यक्रममा युवा नेता प्रताप पौडेल ले पार्टीको विधान, प्रतिनिधिको कार्यविधि तथा प्राविधिक पक्षबारे जानकारी गराएका थिए।
यसैबीच, कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार तयारी तीव्र बनाएको जनाएको छ। जिल्ला हुँदै ६ हजार ७४३ वटै वडामा प्रतिनिधि परिचालन गरिने र वैशाख महिनाभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ। अद्यावधिक सदस्यले मात्र कांग्रेस परिचयपत्र प्राप्त गरी महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।


