काठमाडौ | वीटीआई व्यावसायिक ग्रुप अन्तर्गत सञ्चालित सामाजिक तथा गैरनाफामूलक संस्था कल्प फाउन्डेसनले ललितपुरको भैसेपाटीमा मानसिक स्वास्थ्य र सुस्वास्थ्यका बारेमा शुक्रबार सचेतना कार्यक्रम आयोजना गरेको छ ।
मानसिक स्वास्थ्य र सुस्वास्थ्यका बारेमा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले छलफल चलाए ।
गोल्डेन गेट रिह्याव सेन्टरमा भएको कार्यक्रममा त्यहाँ रहेका लागु औषधसहितका विभिन्न दूरव्यवसनीबाट पीडित करिब ४० जनाको सहभागिता रहेको थियो । सो रिह्यावमा ८५ जना रहेका छन् ।
डा. अधिकारीले व्यस्त जीवन विताउन सके, संगत ठिक गर्न सके, आफूलाई विश्वासिलो लाग्नेसित आफ्ना समस्या सुनाए, चिकित्सकको परामर्श लिए, सामाजिक सञ्जाल ठिक तरिकाले चलाए लागु औषधसहितका विभिन्न दूरव्यवसनी नियन्त्रणमा आउने र मानसिक समस्याबाट पीडित हुन नपर्ने बताए ।
उनले लागु औषधसहितका विभिन्न दूरव्यवसनीलाई नियन्त्रण गर्न घरपरिवार र समाजले पनि उनीहरुलाई अपराधीका रुपमा नहेरेर सामान्य समस्याका रुपमा लिएर सम्मान गर्न सक्नु पर्ने पनि बताए ।
उनले पीडित व्यक्तीको इच्छाशक्ति समाज र घरपरिवारको सहयोग भए लागु औषधसहितका विभिन्न दूरव्यवसनबाट छुटकारा मिल्ने पनि बताए । नेपालमा हरेका दिन विभिन्न खालका कुलतमा फसेर दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको डर लाग्दो तथ्यांक पनि सुनाएका थिए ।
मानिसलाई तनाव, औडाहा हुन्छ त्यस्तो बेला भूँइमा बसेर नाकबाट चार सेकेन्ड सास लिने, चार सेकेन्ड रोक्ने र चार सेकेन्ड लगाएर मुखबाट सास फाल्ने सामान्य अभ्यास गर्दा पनि सहज हुन्छ वरिष्ठ मनोचिकित्सक डा. अधिकारीले बताए ।
सो अवसरमा डा. अधिकारीलाई लागु औषधसहितका विभिन्न खालका दूरव्यवसनीहरुले आफ्नो समस्याका बारेमा प्रश्न गरेर समस्या समाधानका उपाय खोजेका थिए ।
सो कार्यक्रममा वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले आफूले पहिलो पटक लागु औषधसहितका विभिन्न खालका दूरव्यवसनीका समस्या बुझ्ने मौका पाएको बताए । उनले भने डा. अधिकारीबाट धेरै कुरा बुझ्न पनि पाए लागु औषधसहितको दूरव्यवसन घरघरको समस्या रहेछ त्यसैले यो क्षेत्रमा अझ धेरै कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जानीनजानी भएका गल्तीबाट निस्कन लागु औषधसहितका विभिन्न खालका दूरव्यवसनीलाई आग्रह गरे ।
वीटीआईका प्रमुख कार्यकारी अधिकृत दिलिपराज बरालले आफूले गोल्डेन गेट रिह्यावमा आएर समाज बुझ्ने मौका पाएको चर्चा गरे । हामी आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमबाट ज्ञान, सीप बाड्न तयार छौ उनले भने ।
गोल्डेन गेट रिह्याव सेन्टरका अध्यक्ष नागेश खड्कीले यस्ता कार्यक्रममा निरन्तरता दिए लागु औषधसहितका विभिन्न खालका दूरव्यवसनीको आँट, हिम्मत र विश्वास बृद्धि भएर जीवन चलाउन सहजता हुने बताए ।
सो अवसरमा वीटीआइका वरिष्ठ कार्यक्रम प्रबन्धक राजन अधिकारी तथा रिह्याव सेन्टर पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


