Banner Nepal
‘हिजाब’ले उघारेको झापालीको लेखकीय चिनारी

लक्ष्मी नेपाल
गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ अहिले बजारमा छ । यो कुनै आश्चर्य वा नौलो कुरा होइन । तर खुशीको कुरा भने अवश्य हो । झापालीसँगको सङ्गत अब त पुरानै भयो । डेढ दशकको चिनजानमा उनी सजिला व्यक्तित्व लाग्छन् मलाइ । म उनको लेखाई कलाको ‘फ्यान’ नै हुँ । तर हिजाबले मानिसको अनुहार छोप्नु, लुकाउनु पर्ने हो । झापालीको हकमा चाँहि यसले उनको लेखकीय चिनारीलाई झनै उघारी दिएको छ । 

जतिबेलादेखि झापाको सप्तरंगी एफएममा उनीसंग सहकर्मीका रुपमा काम गर्ने मौका जुर्यो । उनी कुनै पनि विषयमा एकै बसाईमा खरर लेख्न सक्ने खुबी भएका मान्छे हुन् । जतिबेला हामी सप्तरंगी एफ एममा आजको सन्दर्भ रेडीयो म्याग्जीन तयार गथ्यौ । म उनको लेखन कला देखेर ट्वाँ पर्थे । 

कहिलेकाही कार्यक्रम आजै भरे प्रशारण हुनु पर्ने, विषय नै तय भएको हुदैनथ्यो । तर उनी हस्याङ् फस्याङ् गर्दै (उनका अरु धेरै पत्रपत्रिकामा आवद्ध थिए) आउथे र भन्थे ‘यो विषयमा कार्यक्रम तयार गर्नुपर्छ आज ।’ म संग फलानाको अन्तरवार्ता छ भनेर स्कृप्ट लेख्न बस्ने अनि मेरो हतासिएको मन शान्त हुन्थ्यो र कार्यक्रम तयार हुन्थ्यो ।

मैले त्यतिबेला पनि उनका ब्लगमा भएका कथा पढ्ने मौका पाएकी थिए । उनी गज्जब लेख्न सक्ने मान्छे हुन् भनेर जान्दथे । तर अहिले कुरा गरौ हिजाबको । कथा आमाको कोलम्बस पढ्दा नै मलाई हिजाबबारे केही लेख्न मन थियो तर खै के खै भने जस्तो लेख्न पाएकै थिइन । बल्ल आज लेख्ने जमर्को मिल्यो । पत्रकारीताको माध्यमबाट लेखन यात्रामा उनको अढाई दशकको अनुभवले लेखनबान्कीमा त उनी बलियो लाग्थेनैं । संग्रहको रुपमा आएको हिजाब भित्रका कथाले उनी कथा लेखनमा पनि उस्तै बलिया लागे । 

हुन त उनीसंग व्यक्तिगत रुपमा हिजाबबारे  छलफल नभएको पनि होइन । तर मलाई उनका कथाबारे लेख्नै पर्छ भन्ने रहयो । कुरा फेरी आमाको कोलम्बसकै जाडौ । कथाको परिकल्पना गज्जबकै छ । विषय प्रवेशमै हास्यस्पद र अनौठो लाग्न सक्छ । मलाई जसरी शिर्षकले शुरुमै पढ्न उत्साहित गर्यो ।

विषय सारले उसैगरी रोमाञ्चित ढंगमा तानिरहे । नेपाललाई न्यायोचित रुपमा अमेरिकाको परिकल्पना गरिएको छ । कथाका पात्रहरुलाई रमाइलो आधुनिक ढंगमा प्रस्तुत गरिएको छ । शेरोगेशी आमाबाट जन्मिएको सन्तानको छटपटिलाई साह्ै मिठो शैलीमा प्रस्तुत गरिएको छ । मलाई यो कथा पढिरहदा भैरव अर्यालको कथाहरु ताजा भएर आए । अर्को अत्यन्तै मार्मिक लागेको कथा हो भुक्के ।

यसमा एउटा कुकुरलाई मुख्य मात्रका रुपमा उभ्याइएको छ । यसमा धेरै कुरा के गर्नु वफादार प्राणि कुकुरमाथि मान्छेले गर्ने व्यवहार कुन हदसम्म हुन्छ । भनेर  कुकुरकै भावमा कथासार व्यक्त भएको छ । 
अब कुरा गरौ, कथा सन्डे क्विनको । यसमा वैदेशिक रोजगारसंगै बाध्यताले टाढिएका श्रीमान श्रीमतीबीचमा आएको खटपटलाई सरल रुपमा प्रस्तुत गरिएको छ । यसमा के कस्तो घटनाक्रम छ त ? यो त एकसरो पढ्ने वित्तिकै पाठकले भन्न सक्ने कुरा हो । 

पुस्तकका रुपमा यो उनको पहिलो कृति हो । तर कथाहरु पढि रहँदा लेखकको पहिलो कृति हो भन्ने भान हुँदैन । वाक्य गठन, विम्बहरुको प्रयोग, खँदिलो शव्दसंयोजनले पनि सिद्ध लेखकको कृतिको भाननहुन्छ । पुरानो चिनारु लेखक भन्दैमा पूर्वाग्रह नराखि भन्नु पर्दा, कुनै कुनै कथाहरु लामा पनि लाग्छन् । कुनै कुनै बुझ्न दोहोर्याएर पनि पढ्नु पर्ने हुन्छ । तर समग्रमा कतिपय कथा भने सामान्य व्यक्तिले सोच्न सक्ने सिमा पार गरि सिर्जना गरिएका पनि छन् ।

यस्ता कथाले पढि सक्नसाथ एकछिन टक्क अडिएर शान्त भएर सोच्न, समय र लेखनविच तुलना गर्न पनि बाध्य पार्छन । यस्ता कथा भनेका खास गरि आमाको कोलम्बस र भुक्के हुन् । अरु कथाहरुले पनि पढिन्जेल भाग्न दिँदैनन् । पक्कै पनि पाठकलाई बाँधेर राख्न सफल छन् भन्ने लागेको छ । 

संक्षिप्त चिनारी
कृति– हिजाब
विद्या– कथा
कथाकार– गोपाल झापाली
कथा संख्या– २१ 
पृष्ठ– ४४२
मुल्य– रु.४९०।–
प्रकाशक– भुँडीपुराण प्रकाशन
लेखक सम्पर्क– [email protected]

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update