काठमाण्डौ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समय किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।
एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदले भोटाहिटीस्थित ब्युरोमा लिखित उजुरी पेश गरेका हुन्।
उजुरीमा सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत किशोरीहरूलाई लक्षित गर्दै साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक अभिव्यक्ति, घृणाजन्य टिप्पणीजस्ता गतिविधि बढेको उल्लेख गरिएको छ। यस्ता क्रियाकलापका कारण किशोरीहरू मानसिक उत्पीडनको सिकार बन्न पुगेको जनाइएको छ।
सांसदहरूले यस्तो व्यवहारले आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर परेको भन्दै यस्ता घटनाको छिटो तथा प्रभावकारी अनुसन्धान गरी पीडितलाई सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेका छन्।


