Banner Nepal
जाजरकोटमा परीक्षा मर्यादा उल्लङ्घन गर्ने निरीक्षकमाथि कडाइ

काठमाण्डौ — माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई अमर्यादित बनाउने कार्यमा संलग्न १६ जना निरीक्षकलाई जाजरकोटका विभिन्न परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ।

जिल्ला परीक्षा समन्वय समितिका अनुसार बारेकोट गाउँपालिका–९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय सक्ला परीक्षा केन्द्रबाट चार, शिवशङ्कर माध्यमिक विद्यालय जगतपुरबाट चार, मानेढुङ्गा माध्यमिक विद्यालय टालेगाउँबाट दुई र नारायणी माध्यमिक विद्यालय केन्द्रबाट छ जना गरी कुल १६ जना निरीक्षकलाई हटाइएको हो।

यज्ञश्वर खत्री का अनुसार अनुगमन टोलीले परीक्षालाई अमर्यादित बनाउने तथा अभिभावक र परीक्षार्थीलाई अनुचित सहयोग गर्ने कार्यमा संलग्न निरीक्षकमाथि कारबाही गरेको हो।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल को निर्देशनमा यस्ता निरीक्षकलाई आगामी परीक्षामा समेत खटिन नपाउने गरी निष्कासन गरिएको जनाइएको छ। साथै मर्यादा उल्लङ्घन गर्नेहरूको नाम सार्वजनिक गर्न स्पष्टिकरण सोधिने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ। जिल्लामा कुल चार हजार ८१३ परीक्षार्थीमध्ये चार हजार ६५३ नियमिततर्फ सहभागी छन् भने ७०८ जना अनुपस्थित रहेका छन्। ग्रेडवृद्धितर्फ १३२ जनामध्ये ९३ जना परीक्षामा सहभागी भएको तथ्याङ्क छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update