Banner Nepal
पत्रकार झापालीको पुस्तक लेखनमा डेब्यू, ‘हिजाब’ भित्र २१ कथा संग्रहित

काठमाडौं । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको ‘हिजाब’ कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो ।

लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत सो पुस्तकको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् ।

२४२ पृष्ठ लामो सो कथा संग्रहमा अधिकांश कथाहरु यथार्थपरक र नेपाली समाज भित्रै भएका र हुने गरेका विषयहरु छन् । केहि कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले जनाएका छन् ।

अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकार गोपाल गुरागाइँ (झापाली)ले विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो कृतिका रुपमा सो संग्रह ल्याएका हुन् ।

झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा रहेर खोज तथा अनुसन्धानमुलक फिचर, समाचार लेखनमा अलग किसिमको पहिचान बनाएका पत्रकार झापाली झापाको कमल ६ का स्थायीबासी हुन् । झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update