
काठमाडौँ । मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपालले फाइनलमा स्थान बनाएको छ । बिहीबार सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा ९० रनमा अलआउट भयो । मलेसियाका मोहमद फतुल मुइनले ३८ रन बनाउँदा कप्तान डियाज प्याट्रोले १० रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका लागि अभय यादवले ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए ।
९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेट गुमाउँदै सहज जित हासिल गर्यो । परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्का सहित अविजित ५९ रन बनाए । शिवान्श बजगाईंले पनि २३ रनमा अविजित रहँदै जितमा योगदान दिए । प्रसिद्ध जैसी २ रनमा आउट भएका थिए ।
अब नेपालले असार २१ गते फाइनलमा हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता एसीसीको आयोजनामा सञ्चालन भएको हो, जसमा १० देश सहभागी थिए । सहभागी टोलीहरू दुई समूहमा विभाजन गरिएको थियो ।