Banner Nepal
पहिलोपटक एकै विदेशी लिगमा ८ नेपाली क्रिकेटरको इन्ट्री

काठमाण्डौ — बेल्जियममा आयोजना हुन लागेको इयू टी–२० लिगका लागि नेपालका आठ जना क्रिकेट खेलाडी विभिन्न टोलीसँग आबद्ध भएका छन्। विदेशी लिगमा एकैपटक यति ठूलो संख्यामा नेपाली खेलाडी सहभागी हुने यो पहिलो अवसर बनेको छ।

ब्रसेल्समा मंगलबार सम्पन्न ड्राफ्टबाट ६ जना खेलाडी छनोट हुँदा यसअघि नै दुई खेलाडी टोलीमा आबद्ध भइसकेका थिए। यसअघि सन्दीप लामिछानेलाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजले अनुबन्ध गरेको थियो।

ड्राफ्टमार्फत कप्तान रोहितकुमार पौडेल ग्लेन्ट ग्लाडिएटर्समा आवद्ध भए भने विकेटकिपर ब्याटर आसिफ शेख आन्थ्रोप एंकर्समा पुगेका छन्। त्यस्तै जेबी ब्रुजले दीपेन्द्रसहित अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डेलाई टोलीमा समेटेको छ।

यससँगै नेपाली खेलाडीहरू विभिन्न टोलीमा विभाजित भएका छन्। आन्थ्रोप एंकर्समा आसिफ शेख, ग्लेन्ट ग्लाडिएटर्समा रोहित पौडेल, जेबी ब्रुजमा पाँच नेपाली खेलाडी र लिएज रेड लायन्समा सन्दीप लामिछाने रहेका छन्।

इयू टी–२० लिग बेल्जियमकै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, जसको आयोजना बेल्जियन क्रिकेट फेडरेसनले निजी कम्पनीसँगको सहकार्यमा गर्दैछ। प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुने तालिका रहेको छ।

नेपाली खेलाडीलाई अवसर दिने उद्देश्यसहित लगानी गरिएको उक्त लिगमा पहिलो सिजनका लागि करिब १० लाख अमेरिकी डलरसम्म खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा पाँच फ्रेन्चाइज टोलीबीच राउन्ड–रोबिन आधारमा प्रतिस्पर्धा हुनेछ भने शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रत्येक टोलीमा १८ खेलाडी रहने व्यवस्था गरिएको छ, जसमा स्थानीय बेल्जियन खेलाडीदेखि अन्तर्राष्ट्रिय अनुभवी खेलाडीसम्मको समावेशी संरचना रहनेछ।

इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन लिगका ग्लोबल ब्रान्ड एम्बेसडरका रूपमा रहेका छन् र ड्राफ्ट कार्यक्रममा पनि सहभागी हुँदै उनले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update