काठमाडौँ । एसियाली फुटबल महासंघले मलेसियाले नेपाल र भियतनामविरुद्ध हासिल गरेको जितको नतिजा उल्ट्याउँदै दुवै टोलीलाई ३–० को प्राविधिक जित प्रदान गरेको छ । अयोग्य खेलाडीलाई नक्कली कागजातका आधारमा मैदान उतारेको पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो ।
यस निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट बाहिरिएको छ । मलेसियाली फुटबल संघले विदेशी खेलाडीलाई नागरिकता दिलाउन झुटा कागजात पेस गरेको तथ्य सार्वजनिक भएको थियो ।
यसअघि भएको खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । तर अहिले उक्त नतिजा खारेज गरी नेपाललाई ३–० को जित दिइएको छ । यसबाट नेपालले महत्वपूर्ण तीन अंक त पाएको छ, तर समग्र प्रदर्शन कमजोर रहेकाले अर्को चरणमा पुग्न भने सफल भएन ।
समूह चरणमा भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भएको छ । नतिजा उल्टिएपछि नेपाल तीन अंकसहित तेस्रो स्थानमा पुगेको छ भने लाओस चौथो स्थानमा रहेको छ । मलेसियासहित नेपाल र लाओस पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।
सात खेलाडीलाई दोषी ठहर गर्दै १२ महिनाको प्रतिबन्ध लगाइएको छ भने मलेसियाली फुटबल संघलाई आर्थिक जरिवाना पनि गरिएको छ ।
अब नेपालले आफ्नो अन्तिम खेलमा लाओससँग प्रतिस्पर्धा गर्नेछ । चैत १७ गते हुने उक्त खेलसँगै नेपालको छनोट यात्रा समाप्त हुनेछ ।


